धादिङ – धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेलीब्रिज निर्माण गरिने भएको छ । सडक खन्न सुरु गरेको करिब चार दशकपछि खनियाँबास गाउँपालिकामा पर्ने किन्ताङ फेदीमा सिङ्गल बेलीब्रिज निर्माण सुरु गरिएको हो ।
३९ दशमलव छ मिटर लम्बाइ र ७ दशमलव २ मिटर चौडाइको पुल निर्माणको काम सुरु गरिएको खनियाँबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए । पुलको दुवै भागमा फुटपाथ रहने र एकतर्फी मात्रै सवारी चल्ने गरी निर्माण थालिएको उनले जानकारी दिए ।
उत्तरी धादिङलाई जिल्ला सदरमुकाम जोड्ने यो मुख्य मार्ग हो । यो पुलले उत्तरी धादिङको रुवीभ्याली, गँगाजमुना, खनीयाँबास र नेत्रावती डब्जोङ गाउँपालिकाको विकट बस्तीलाई सदरमुकाम धादिङबेँसीसँग जोड्नेछ ।
पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत बन्द हुने गरेकामा खोलामा बेलिब्रिज बन्न थालेपछि उत्तरी क्षेत्रका स्थानीय खुसी भएका छन् । पुल बनेपछि जिल्लाको उत्तरी क्षेत्रका नागरिकको जनजीवन फेरिने आशा पलाएको गङ्गाजमुना गाउँपालिका-२ रिगाउँका राजु तामाङले बताए । ‘पुल बनेपछि हामीले कति राहत पाउँछौँ कल्पना गर्नै सक्दैनौँ । चाँडै पुल बने हामी दुर्गममा बस्नेको जीवन फेरिन्छ’, उनले भने ।




प्रतिक्रिया