विद्युतीकरणका लागि ऐसेलुखर्कमा डिटेल सर्भे सुरु

विद्युतीकरणका लागि ऐसेलुखर्कमा डिटेल सर्भे सुरु


खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकामा साँढे एक वर्षभित्र विद्युतीकरणको काम सक्नेगरी डिटेल सर्भे सुरु गरिएको छ । ७ वडा रहेको गाउँपालिकाका सबै उपभोक्ताको घरमा विद्युत विस्तार गर्ने योजना सहित शनिबारदेखि ठेकेदार कम्पनी सिग्माकोनले डिटेल सर्भे सुरु गरेको हो ।

ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल र ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्कमा ठेकेदार कम्पनीका दुई/दुई जना प्राविधिकको टोलीले सर्भे सुरु गरेको गाउँपालिकाका प्रवक्ता टेकेन्द्र राजभण्डारीले बताए ।

ऐसेलुखर्कका ७ वडामध्ये ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी, राखाबांदेल र बाकाचोललाई हालसम्म विद्युतले छोएको छैन । हालसम्म गाउँपालिका–७ माक्पा, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी, ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे र ऐसेलुखर्कबजारमा मात्र आंशिक विद्युत विस्तार भएको छ ।

बाँकी वडा र उपभोक्ताको घरमा विद्युत विस्तारका लागि शुक्रबार गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई, नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय, प्राधिकरणको दिक्तेल वितरण केन्द्रका प्रमुख तथा प्रतिनिधिबिचको बैठकले साँढे एक वर्षभित्र विद्युतीकरणको काम सम्पन्न गर्ने निर्णय गरेको छ ।