खोटाङ बजारमा भीषण आगलागी

खोटाङ बजारमा भीषण आगलागी


खोटाङ – खोटाङ बजारमा भीषण आगलागी भएको छ । विद्युत् सर्ट हुँदा खोटेहाङ गाउँपालिका ७ मा रहेको माणिकलाल प्रधानको घरमा आगलागी भएको हो ।

मोबाइल र स्टेसनरी पसल सञ्चालन हुँदै आएको प्रधानको घरमा सोमबार राति आगलागी हुँदा लाखौँको क्षति भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।

आगलागीमा प्रधानको घरमा सञ्चालित खोटेहाङ गाउँपालिका ६ ईन्द्रेणी पोखरीका रमेश राईको मोबाइल पसल र खोटाङ बजारकै घनश्याम फुयाँलको स्टेसनरी पसल पूर्णरुपमा जलेको छ ।

मोबाइल पसलबाट सुरु भएको आगलागीमा घरका मालिक प्रधानको झण्डै ३० लाख, मोबाइल पसल सञ्चालक राईको १८ लाख र स्टेसनरी सञ्चालक फुयाँलको १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) आमोदकुमार खेरवारले बताए ।