काठमाण्डु – प्रदेश १ को पहाडी जिल्ला खोटाङमा पनि स्थानीय चुनावको पारो बढेको छ । यो जिल्लामा दुई नगरपालिकासहित १० वटा स्थानीय तह छन् । खोटाङमा मुख्य रूपमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिन्छ । तर, माओवादीको मत निर्णायक छ ।
अघिल्लो चुनावका आधारमा जिल्लामा एमाले पहिलो दल हो । उसले १० मध्ये पाँचवटा पालिकामा प्रमुख र उपप्रमुख नै जितेको थियो । कांग्रेसले चारवटा प्रमुख जित्न सफल भएको थियो भने माओवादीले एउटामा सफलता पाएको थियो । एमालेले रूपाकोट–मजुवागढी नगरपालिकाको मेयर–उपमेयरसहित कोपिलासगढी, खोटेहाङ, जन्तेढुंगा र राराबेसी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष नै जित्यो । यस्तै, ऐंसेलुखर्क र बराहपोखरी गाउँपालिकाको उपाध्यक्ष पनि जित्न सफल भयो ।
कांग्रेसले हलेसी–तुवाचुङ नगरपालिकाको मेयर–उपमेयर जित्यो । यस्तै, उसले दिप्रुङ गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष तथा ऐंसेलुखर्क र बराहपोखरीको अध्यक्ष र साकेलाको उपाध्यक्ष पनि जितेको थियो । माओवादी केन्द्रले साकेलाको अध्यक्ष मात्रै जित्यो । जिल्लाका १० मध्ये ६ वटा पालिकामा सत्ता गठबन्धनका दलबीच तालमेल भएको छ । चारवटामा भने छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दिइएको छ ।
तालमेलअनुसार रूपाकोट–मझुवागढी नगरपालिकाको मेयर कांग्र्रेस र उपमेयर माओवादीले लिएको छ । बराहपोखरी गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादीले पाएको छ । रावाबेसीमा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी तथा खोटेहाङ, जन्तेढुंगा, ऐंसेलुखर्क गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रलाई दिने गरी तालमेल भएको छ । ती गाउँपालिकामा उपाध्यक्ष कांग्रेसले लिएको छ ।
दिप्रुङमा कांग्रेसले एक्लै जित्ने भन्दै अघि बढेको छ । त्यहाँ माओवादी, जसपा र एकीकृत समाजवादीबीच तालमेल भएको छ । केपिलासगढी र साकेला गाउँपालिकामा पनि तालमेल भएको छैन । साकेलामा कांग्रेस र माओवादीबीच नै मुख्य प्रतिस्पर्धा छ । तालमेल भएका ६ वटै तहमा विगतको मतका आधारमा गठबन्धनका उम्मेदवार अघि देखिन्छन् । ती तहमा एमालेले धक्का खान सक्छ । रूपाकोट–मजुवागढी नगरपालिकामा तीन दलकै अवस्था उस्तै छ । त्यहाँ माओवादीले उपमेयरमा मात्रै उम्मेदवारी दिएको छ ।
गठबन्धन र पार्टी विभाजनका कारण एमालेले खोटाङमा कम्तीमा तीनवटा पालिका गुमाउन सक्ने सम्भावना छ । तर, तालमेल कतिको कार्यान्वयन हुन्छ भन्ने हेर्न बाँकी छ । खोटाङमा आगामी चुनावका लागि १ लाख ४३ हजार ७ सय ५२ मतदाता छन् । तीमध्ये ७५ हजार ६ पुरुष र ६८ हजार ७ सय ४६ महिला छन् ।














प्रतिक्रिया