खुलामञ्च प्रकरण : सम्झौतामै किर्ते, दलकै आडमा अतिक्रमण

खुलामञ्च प्रकरण : सम्झौतामै किर्ते, दलकै आडमा अतिक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीको खुलामञ्च कब्जा गर्ने जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिले काठमाडौं महानगरपालिकासँग गरेको सम्झौतामा किर्ते भएको फेला परेको छ। महानगरपालिकासँग भएको सम्झौतापत्रमा ‘२०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्साभन्दा विपरीतका संरचना निर्माण गर्न पाइने छैन’ भनिएको छ भने ठेकेदारसँग भएको प्रतिमा ‘पाइनेछ’ उल्लेख छ।

ठेकेदारलाई ‘नक्साविपरीतका संरचना निर्माण गर्न पाइनेछ’ भन्ने प्रति दिइसकेपछि महानगरपालिकाको प्रतिमा डटपेनले केरमेट गरी ‘छ’ लाई ‘छैन’ भनेर बेहोरा फेरिएको पाइएको हो। काठमाडौं महानगरपालिका र जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिबीच २०७४ वैशाख ८ गते सम्झौता भएको थियो।

महानगरपालिकासँग भएको सम्झौतापत्रमा ‘काठमाडौं महानगरपालिकाले मिति २०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्साभन्दा विपरीतका संरचना निर्माण गर्न पाइनेछैन साथै द्वितीय पक्षलाई मर्का पर्नेगरी संशोधन गरिनेछैन। दुवै पक्षको सहमतिमा आकारप्रकारमा थपघट गर्न सकिनेछ’ भन्ने उल्लेख छ।

प्रालिसँग भएको सम्झौतापत्रमा भने ‘काठमाडौं महानगरपालिकाले मिति २०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्साभन्दा विपरीतका संरचना निर्माण गर्न पाइनेछ र साथै द्वितीय पक्षलाई मर्का पर्नेगरी संशोधन गरिने छैन। दुवै पक्षको सहमतिमा आकारप्रकारमा थपघट गर्न सकिनेछ’ भन्ने उल्लेख गरिएको छ।

उक्त सम्झौतापत्रमा महानगरपालिका प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्की र जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका कार्यकारी अध्यक्ष मनोज भेटवालले हस्ताक्षर गरेका छन्। साक्षीमा राजस्व महाशाखाका तत्कालीन प्रमुख महेश काफ्ले, महानगरपालिकाको निजी साझेदारी एकाइका प्रमुख सुमन अधिकारी र प्रालिकी लेखा प्रमुख गीता भट्ट छन्। हस्ताक्षरकर्ता महानगर प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले सम्झौतापत्र हेरेर मात्रै बोल्ने प्रतिक्रिया दिए। ‘सम्झौतापत्र नहेरेसम्म कसले किर्ते ग¥यो, भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘पत्र हेरेर मात्रै अन्य कुरा बताउन सकिएला।’

सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ काठमाडौं महानगरपालिकाले किर्ते सम्झौता गरेर नक्साविपरीत संरचना निर्माण गर्ने अनुमति दिएको दाबी गर्छन्। ‘महानगरपालिकाले प्रालिसँग भएको सम्झौतापत्रमा नक्साविपरीतका संरचना बनाउन पाइनेछ भन्ने उल्लेख गरेको देखिन्छ,’ उनले भने, ‘तर महानगरपालिसँग भएको सोही सम्झौतापत्रमा भने डटपेनले केरेर छैन भन्ने उल्लेख गरेको देखिन्छ। त्यसैले कर्मचारीको चलखेलमा किर्ते गरेको देखिन्छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।