काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बिहीबार दिउँसो नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला खुमलटार पुगे । सत्तारुढ दल कांग्रेस नेता कोइरालाले प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डलाई भेट्दा राजनीतिक वृत्तमा अनेक चर्चा हुन थालेको छ ।
कांग्रेसभित्र संस्थापनइतर पक्षका नेता मानिने कोइराला पार्टीभित्रको अनुशासनात्मक कारवाहीको घटनापछि असन्तुष्ट छन् । अर्काेतिर कोइराला वर्तमान सत्ता गठबन्धनप्रति असन्तुष्ट छैनन्, उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारको आलोचना गर्दै आएका छन् ।
यस्तो बेला डा. कोइरालाले खुमलटार पुगेर प्रचण्डसँग गरेको भेटमा सत्ता समीकरण फेर्ने विकल्पबारे छलफल भएको उच्च स्रोतले जनाएको छ ।
‘सरकार चारैतिर असफल भएको र मन्त्रीहरू घुसकाण्ड र भ्रष्टाचारमा मुछिएकाले विकल्प खोज्नुपर्ने बेला आएकोबारे भन्ने छलफल भएको छ,’ स्रोतले भन्यो, ‘नेताहरूबीच ओलीको विकल्प शेरबहादुर देउवा पनि होइनन् भन्ने छलफल भएको छ । यसरी राजनीतिक ध्रुवीकरण हुने देखिँदैछ ।’
हालै जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार राष्ट्रिय सभामा अल्पमतमा परेको छ । ‘उपेन्द्रले समर्थन फिर्ता लिनु, भूमि विधेयक पारित गराउन सरकारलाई सकस पर्नु, कांग्रेसमा छानीछानी कारवाही हुनुले राजनीति तरङ्गित छ,’ स्रोतले भन्यो, ‘यस्तै अवस्था रहे नयाँ गठबन्धन बन्ने सम्भावनाबारे शेखर कोइरालाले औपचारिक सुरुआत गरेका छन् ।’
बिहीबारको भेटमा रोचक कुरा के छ भने प्रचण्ड र कोइरालाको भेटवार्ताको बीचमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह सहभागी थिए । सिंह कांग्रेस परित्याग गरी स्वतन्त्र सांसद बनेका थिए । उनले कांग्रेसमा सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाको विरोध गर्दै आएका छन् ।




प्रतिक्रिया