स्वदेशमै प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण : नेपाली चिकित्सा इतिहासकै सुखद क्षण

स्वदेशमै प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण : नेपाली चिकित्सा इतिहासकै सुखद क्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गाैला पुनः प्रत्यारोपण सफल भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भएको सफल प्रत्यारोपण नेपाली चिकित्सा इतिहासकै सुखद क्षण बनेको छ ।

राजकीय पदमा रहेका व्यक्तिहरू सामान्य उपचारका लागि समेत विदेश जाने अभ्यास रहेका बेला बहालवाला प्रधानमन्त्री ओलीले स्वदेशमै मिर्गाैला प्रत्यारोपण गर्नु ऐतिहासिक सुखद घटना भएको छ । ओलीले नै १२ वर्षअघि भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका थिए ।

प्रधानमन्त्री ओलीले स्वदेशी अस्पताल र डाक्टरलाई विश्वास गर्दै मिर्गाैला प्रत्यारोपण गराउन तयार हुनु तथा अस्पताल र डाक्टरले प्रधानमन्त्रीको विश्वासलाई सफल पार्नु ठूलो उपलब्धिका रुपमा अगाडि आएको छ । राजनीतिक नेतृत्वले स्वदेशी स्रोतसाधन र जनशक्तिलाई विश्वास गर्नुपर्ने सन्देश दिन प्रधानमन्त्री ओली सफल भएका छन् भने नेपाली चिकित्सक समेत सफल छन् भन्ने सन्देश अस्पतालले दिएको छ ।
अस्पतालका चिकित्सक प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले बुधबार सफलतापूर्वक ओलीको मिर्गौला पुनः प्रत्यारोपण गरेको छ ।

ज्ञवाली नेतृत्वको शल्यचिकित्सा टोलीमा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. अनन्त कुमार रहेका थिए भने मिर्गाैला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा. दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली लगायत रहेका अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सफलताको सुखद सन्देश
स्वदेशमै मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओलीले विशेष सन्देश दिएको प्रेस सल्लाहकार सूर्य थापाले बताए । ‘प्रधानमन्त्रीले विशेष मेसेज दिनुभएको छ, मिर्गौला प्रत्यारोपणका लागि विदेश जान बाध्य रहेकाहरूमा पनि यसका लागि नेपालकै अस्पतालहरू सक्षम छन् भन्ने सन्देश गएको छ,’ उनले पत्रकारसँग भने । मिर्गाैला प्रत्यारोपण सफल भएपछि अस्पताल पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सफल मिर्गौला प्रत्यारोपणको खबरले अत्यन्तै खुशी बनाएको बताए । ‘फेरिएको किड्नीले काम गर्न शुरू गरिसकेको छ, होश पनि आइसकेको अवस्था छ भनेर चिकित्सकहरूले बताउनुभयो,’ पुनले भने, ‘असाध्यै खुशी लाग्यो । सम्पूर्ण जनताको तर्फबाट प्रधानमन्त्रीज्यूलाई शुभकामना प्राप्त भएको छ ।’

देशकै सर्वोच्च कार्यकारी व्यक्तिले स्वदेशभित्रै मिर्गौला प्रत्यारोपण गर्दा राम्रो सन्देश गएको उनले बताए । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले स्वदेशमै उपचार गरेका कारण सबै जनताले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनुपर्ने बताए । ‘अब सबैले स्वदेशमै उपचार गर्नुपर्छ, सुरूआत प्रधानमन्त्रीबाट भएको छ । नेपाली डाक्टरप्रति विश्वास बढेको छ,’ उनले भने ।

चिकित्सा सफलता
शिक्षण अस्पतालमा पहिलो पटक २०६५ साउन २४ गते मिर्गौलाको सफल प्रत्यारोपण भएको हो । त्यसपछि सर्वसाधारणको मिर्गाैला प्रत्यारोपण हुँदै आएकाले यसको खासै चर्चा भएन । तर कार्यकारी पदमा रहेका बहालवाला प्रधानमन्त्री ओलीले स्वदेशमै मिर्गाैला प्रत्यारोपण गरेका कारण नेपाली चिकित्सकको क्षमता जगजाहेर भएको छ ।

शिक्षण अस्पतालकै पहलमा ७ जना शल्यचिकित्सक र ५ जना नेफ्रोलोजिस्टले अध्ययन पूरा गरेका छन् । नेपालमा ८ वटा अस्पतालमा मिर्गौला प्रत्यारोपण हुन्छ । २०६५ यता करीब १ हजार ५ सय जनाको मिर्गौला प्रत्यारोपण सफल भइसकेको तथ्यांक छ । नेपालमा मिर्गाैला प्रत्यारोपणको सफल दर ९८ प्रतिशत रहेको जनाइएको छ । नेपालमा मिर्गाैला पुनः प्रत्यारोपण गर्नेमा प्रधानमन्त्री ओली ११ औं व्यक्ति हुन् ।प्रधानमन्त्री ओलीले गरेको मिर्गाैला प्रत्यारोपणले नेपाली चिकित्सकप्रति बिरामीको विश्वास बढ्ने देखिएको छ । ठूलाबडाले उपचारका लागि विदेश नै जाने प्रचलनलाई समेत ओलीले ‘ब्रेक’ लगाइदिएका छन् । यसअघि सरकारले विदेशमा गएर उपचार गर्ने सरकारी पदाधिकारीलाई उपचार खर्च नदिने निर्णय समेत गरेको थियो ।