काठमाण्डु – भारतको उडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीलाई क्याम्पसमा फर्केर कक्षा लिन अपिल गरेको छ ।
सोमबार एक अपिल जारी गर्दै रजिस्ट्रारले क्याम्पस छाडिसकेका र छाड्ने योजनामा रहेका नेपाली विद्यार्थीलाई कक्षा सुरु गर्न अपिल गरिएको छ ।
अपिलमा भनिएको छ, ‘क्याम्पस छोडिसकेका वा छोड्ने योजना बनाइरहेका हाम्रा सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्केर कक्षाहरू पुनः सुरु गर्न अनुरोध गरिन्छ ।’
आईतबार साँझ क्याम्पसमा भएको दुर्भाग्यपूर्ण घटनापछि तत्कालै प्रहरीले अनुसन्धान गरी दोषीलाई पक्राउ गरिसकेको दाबी गरिएको छ । क्याम्पस र छात्रावासमा सामान्य अवस्था पुनःस्थापना गर्न र शैक्षिक गतिविधि पुनः सञ्चालन गर्न सबै प्रयास गरिरहेको जनाइएको छ ।
उडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्राबासमा नेपाली छात्रा रुपन्देहीकी प्रकृति लम्सालको शंकास्पद मृत्यु भएको छ ।
लम्साल इन्जिनीयरिङ कलेजमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । लम्सालले आत्महत्या गरेपछि कलेजमा नेपाली विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । कलेज प्रशासनले विरोध प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालेर रेलवे स्टेसनमा पुर्याएर अलपत्र पारेको छ ।





प्रतिक्रिया