१६ बुँदे घोषणापत्र जारी गर्दै ‘किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन’ सम्पन्न, प्रदेश १ लाई किरात प्रदेश नामकरण गर्न माग

१६ बुँदे घोषणापत्र जारी गर्दै ‘किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन’ सम्पन्न, प्रदेश १ लाई किरात प्रदेश नामकरण गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – १६ बुँदे घोषणापत्र जारी गर्दै किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिले यहि कात्तिक २७ देखि २९ गतेसम्म काठमाण्डु र ललितपुरमा आयोजना गरेको उक्त सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

समितिले प्रदेश नम्बर १ लाई ‘किराँत प्रदेश’ नामकरण गर्न माग गरेको छ । किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उक्त विषयको माग गरिएको हो ।

समितिका संयोजक दिवस राईले गत कात्तिक २५ गतेदेखि यही मङ्सिर ९ गते सम्पन्न हुन लागेको नेपालको १२औँ राष्ट्रिय जनगणनामा बाम्बुले समुदायको कोड नं ४३ को मूल प्रश्नलाई विभागले त्रुटि गरी याम्बुले र दुमीलाई डुमी बनाएको विषयलाई तत्काल सच्याउन पनि सरकारसमक्ष माग गरिएको जानकारी दिए ।

त्यसैगरी जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न र किराँत विश्वविद्यालय स्थापना गर्नुपर्ने पनि घोषणापत्रमार्फत माग गरिएको छ ।

भौतिक विकासका नाममा ऐतिहासिक सांस्कृतिक महत्व बोकेको किराँत राई जातिको सम्पदा रहेको गढी, किल्ला, दरबारमाथि हुँदै आएको अतिक्रमण बन्द गर्न र तिनीहरुको संरक्षणका लागि तत्काल पहल गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

किराँत राई जातिको महान चाड साकेला उभौली/उद्यौलीमा देश व्यापीरूपमा कम्तीमा पाँच दिन र आदिवासीले मान्ने सबै राष्ट्रिय चाडमा अन्य राष्ट्रिय चाड पर्वसरह सार्वजनिक बिदा गर्न पनि माग गरिएको छ । सम्मेलनमा नेपालसहित १४ देशका प्रतिनिधिको सहभागिता रहेको थियो ।