काठमाण्डु – किरात राईहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन–२०७८’ काठमाण्डुमा सुरु भएको छ । किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिले आयोजना गरेको सो सम्मेलनको शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् ।
सम्मेलनमा राई जातिभित्रका २६ भाषाको अवस्था, किराँत सिरिजङ्गा लिपिको प्रयोग, किराँत धर्म र माङ्खिम, मुन्दुममा सुप्तुलुङको स्थान र प्रयोग, किरात प्रदेश अभियानलगायत विषय छलफल हुनेछ । सम्मेलनका दौरान किराँत राईसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।
दुई दिनसम्म चल्ने सम्मेलनले कार्यपत्रमाथि बृहत् छलफल गरी काठमाण्डु घोषणापत्र जारी गर्नेछ । सम्मेलनमा सहभागी हुन भारत, अमेरिका, बेलायत, हङ्कङ, मकाउ लगायत विभिन्न १४ देशबाट किराँत राईहरु काठमाण्डु आएको आयोजक समितिका संयोजक दिवस राईले बताए ।
सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले आफ्नो भाषा, संस्कृति, इतिहास र भूगोलसँग जोडिएको पहिचान स्थापित गर्न, राज्यका निकायमा पहुँच र प्रतिनिधित्व बढाउन र आफ्नो भाषा, संस्कृति, पहिचानको संरक्षण, सम्बर्द्धन र विकास गर्न एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।
साझा उद्देश्य प्राप्तिका लागि एक भएर अगाडि बढ्न आग्रह गर्दै उनले एकताबाटै राजनीतिक, सामाजिक, आर्थिक अधिकार प्राप्त हुने बताए । उपराष्ट्रपतिले सबै आदिवासी जनजातिलाई, सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्ने र देशको राष्ट्रिय एकतालाई नै सुदृढ गर्ने गरी किराँत राई समुदाय अघि बढ्ने विश्वास व्यक्त गरे । उनले पुर्खाले लामो मेहनतपछि स्थापित गरेका आफ्नो भाषा, संस्कार, संस्कृति, सभ्यता र इतिहासलाई संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न आग्रह गरे ।
त्यस्तै प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले किरात राईको सभ्यतालाई संरक्षणमा राज्यले विभेद गर्न नहुने बताए । किरातको पहिचान र अधिकारका लागि आफू निरन्तर लाग्ने बताउँदै उनले पहिचानका विषयमा अनावश्यक राजनीति हुँदा प्रदेशको नामकरणमा समस्या आएको बताए ।
पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका नेता अशोक राईले पहिचानका विषयमा रहेको भ्रमपूर्ण बुझाइलाई चिर्दै पहिचानको आन्दोलनलाई शान्तिपूर्ण र सहमतिमा अगाडि लैजानुपर्ने बताए ।
कार्यक्रममा बरिष्ठ गायक तथा संगीतकार जितेन राई, महागायक राजेशपायल राई, पार्वति राई, हास्य कलाकार फुलन्देकी आमा (उमेश राई), बाँसुरी बादक नगेन्द्र राईको साथै किरात राई सांस्कृतिक कलाकार संघका राई नवीन, पदम राई लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।




प्रतिक्रिया