क्वारेन्टाइनमै किरिया शुरु !

क्वारेन्टाइनमै किरिया शुरु !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी – दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टाइनमा नै बसेका छन् ।

भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टाइनमा बसिरहेका छन् । उनका बुबा चिन्तामणि भट्टको ६ दिनअघि निधन भएपछि उनले क्वारेन्टाइनमै किरिया शुरु गरेका हुन् । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरी उनी दोगडाकेदार पुगेका थिए ।

क्वारेन्टाइनमा किरिया बस्न बाध्य भएको उनले गुनासो गरेका छन् । घरमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरेको भए पनि घर पठाउन नमानेको स्थानीयवासी केशव भट्टले जानकारी दिए ।

भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने निर्देशनअनुसार नै उनलाई क्वारेन्टिनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए ।

लीलाधरको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उनले बताए । यसअघि गत जेठ दोस्रो साता बैतडीको मेलौली नगरपालिका–७ पच्कोराका रामसिंह रावत पनि आफ्ना बुबाको किरिया क्वारेन्टाइनमा बसेका थिए ।