काठमाण्डु – नेकपा एमालेमा फर्किएका तत्कालीन सांसद किसान श्रेष्ठले विभिन्न कारणले पार्टी विद्रोहमा लाग्नु जीवनकै ठूलो भूल भएको बताएका छन् ।
सोमबार राष्ट्रियसभा गृहमा घर फर्क अभियानमा बोल्दै श्रेष्ठले विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै पार्टीमा फर्किने अभियानमा सामेल हुन सबैमा आग्रह गरे ।
उनले भने, ‘विगतमा विभिन्न कारणले हामी पार्टी विद्रोहमा लागेकै हौं र त्यो हाम्रो जीवनकै भूल थियो भन्ने कुरा समयले बताएको छ । यसर्थ, विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै पार्टीमा फर्किने अभियानमा सामेल हुनुहुन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण कमरेडलाई हामी आह्वान गर्दछौं । यस्तो काम समयमै गर्दा स्वयं व्यक्ति, पार्टी र मुलुकका निम्ति हितकर हुन्छ ।’
एमाले छोडेपछि पार्टी केवल एउटा संगठन होइन, एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह भएको आफूहरूले बुझेको बताए ।
आज केवल पार्टीमा फर्किएको मात्र नभई आदर्श, मार्ग र प्रतिबद्धता फर्काएको उनले बताए । देशलाई आर्थिक समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउने यात्रामा ओलीको नेतृत्वमा पुन: एकताबद्ध हुने उनको भनाई छ ।
‘आज हामी केवल पार्टीमा फर्किएका हैनौं, हामीले हाम्रो आदर्श, मार्ग र प्रतिबद्धता फर्काएका छौं । हामीसँगै आएका र आउने क्रममा रहनुभएका साथीहरू पनि यही भावनाका प्रतिनिधि हुनुहुन्छ । अब आगामी राजनीतिमा, हामी सबै मिलेर एमालेलाई अझ सबल, आधुनिक र जनमुखी बनाउन तयार छौँ । देशलाई आर्थिक समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउने यात्रामा हामी सबै केपी शर्मा ओलीज्यूको नेतृत्वमा पुन: एकताबद्ध हुँदैछौं । आज म र हामी समस्त फर्किएका साथीहरू यहाँ अत्यन्त भावुक मन लिएर उभिएका छौं ।’
कार्यक्रममा बोल्दै नेकपा एमालेमा पुन फर्किएकी नेत्री रामकुमारी झाँक्रीले जेनजी आन्दोलनको भर्सेसमा नेकपा एमाले उभिएको बताइन् । जेनजीको नाममा भइरहेको क्रियाकलाप नितान्त सरकारविरुद्धको एउटा प्रहार भएको पनि उनको भनाइ छ ।
उनले भनिन्, ‘जेनजीको नाममा जे भइरहेको थियो । त्यो नितान्त सरकार विरुद्धको एउटा प्रहार थियो । सरकारविरुद्ध थिएन भने सरकारसमक्ष माग कस्ले प्रस्तुत गरेको थियो ? जेनजी आन्दोलन युवा पुस्ताको एउटा आक्रोस थियो । त्यो सामान्य थियो । त्यसमा रोटी सेक्नको लागि सरकारविरुद्ध जुन–जुन तत्वहरू सामेल भए, आज फर्केर हेर्दा जेनजी आन्दोलन भर्सेस नेकपा एमाले त्यसको नेतृत्व एउटा उभिएको छ ।’




प्रतिक्रिया