काठमाण्डु– लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा सक्रिय रहँदै आएका केन्द्रीय सदस्य किशोर कार्कीले पार्टी परित्याग गरेका छन्। उनले अब पार्टीको साधारण सदस्य पनि नरहने स्पष्ट पार्दै स्वतन्त्र नागरिकको भूमिकामा रहने घोषणा गरेका हुन्।
बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै कार्कीले राप्रपा नेतृत्वप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनका अनुसार पार्टी संस्थागत धारमा अगाडि बढ्न असफल भएको, अध्यक्षले अभिभावकीय भूमिका निर्वाह नगरेको, तथा संगठन गुट–उपगुटमा विभाजित भएको कारणले आफू निराश बनेको उल्लेख गरेका छन्।
“पार्टीलाई सही मार्गमा ल्याउन बारम्बार प्रयास गरें,” विज्ञप्तिमा कार्कीले लेखेका छन्, “तर नेतृत्वको निष्क्रियता र व्यक्तिगत स्वार्थले गर्दा त्यो सम्भव भएन।”
कार्की पार्टीको निर्वाचित केन्द्रीय सदस्य हुनुका साथै प्रदेश संयोजक, उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य तथा अनुशासन समितिको सदस्य सचिवजस्ता जिम्मेवारीमा रहिसकेका छन्।
पार्टी परित्यागसँगै अब उनी स्वतन्त्र भूमिकामा सामाजिक र राष्ट्रिय चासोका विषयमा क्रियाशील हुने संकेत दिएका छन्।






प्रतिक्रिया