किसुनजीलाई हराउन गिरिजाबाबुले ५ करोड दिए : उमेश गिरी

किसुनजीलाई हराउन गिरिजाबाबुले ५ करोड दिए : उमेश गिरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- विराटनगर महानगर–१० निवासी ६५ वर्षीय उमेश गिरी ४ मंसिर ०७४ मा अध्यक्ष केपी ओलीको हातबाट टीका लगाएर एमालेमा प्रवेश गरे । उनले लामो समय कांग्रेसमा रहेर राजनीति गरे ।

मोरङको ५ नम्बर क्षेत्रबाट शैलजा आचार्यविरुद्ध दुईपटक बागी उम्मेदवारसमेत बने । ०६४ को संविधानसभा निर्वाचनमा तमलोपाबाट पनि उम्मेदवार बने । कांग्रेसले गरेको जहाज अपहरण, कृष्णप्रसाद भट्टराई हराउ अभियान, उद्योगी तुलसीराम अग्रवाल अपहरणलगायत विभिन्न काण्डमा जोडिएका गिरीले आफ्नो जीवनका केही रमाइला किस्सा सुनाएका छन् ।

म विराटनगरको तिनपैनीमा जन्मेको हुँ । एसएलसी आइए पढ्न मोरङ क्याम्पसमा भर्ना भएँ । मनमोहन कोइरालाका छोरा प्रकाश, भतिजा शेखर, राजदूत महेश मास्केहरू क्लासफेलो थिए । स्कुल पढ्दैखेरि नै विजय अर्याल, बच्चु सापकोटा, रामलक्ष्मण, हरि सापकोटा, हरि न्यौपानेजस्ता कट्टर कांग्रेसीहरूसँग संगत भयो । ०२२ मा विराटनगरमा नाचघर काण्ड चर्कियो ।

विराटनगरमा रहेका डिआइजी नारायण सिंहलाई राष्ट्रिय नाचघरमा युवतीमाथि अभद्र व्यवहार गरेको आरोप लाग्यो । कांग्रेस समर्थक विद्यार्थीहरूले विराटनगरमा ठूलो आन्दोलन चर्काए । ०५० को निर्वाचनमा काठमाडौंबाट किसुनजी उठ्ने भए । चुनाव जितेमा उनी प्रधानमन्त्री बन्ने पक्का थियो ।

यसैले गिरिजाबाबु उनलाई चुनाव लड्न दिन चाहँदैन थिए । उनले किसुनजीलाई चुनाव नलड्न आग्रह पनि गरे । तर, किसुनले मानेनन् । त्यसपछि गिरिजाले उनलाई जसरी पनि हराउने गोप्य योजना बनाए । मलाई काठमाडौं बोलाए । पावर दिए । म सक्रिय भएर किसुनजी हराउ अभियानमा खटिएँ । कतिलाई अपहरण गराएँ, कतिलाई कुटाएँ, धम्क्याएँ । किसुनजीलाई हराउन धेरै नेता लागिपरेका थिए । गिरिजाबाबुले दिएको पाँच करोड रुपैयाँ त मैले मात्र खर्च गरेको थिएँ ।

देशभरका कोइराला पक्षधर कार्यकर्ता काठमाडौं ओसारेर किसुनजीलाई हराउन आग्रह गरिएको थियो । घट्टेकुलोमा रहेको पूर्वप्रन्याय केदारप्रसाद गिरीको घरमा मैले त्यो अभियानको हेडक्वार्टर बनाएको थिएँ । एमाले नेता भीम रावलकी श्रीमतीले मसँग कोर्डिनेट गर्थिन्, विद्या भण्डारीलाई जिताउनका लागि । अन्ततः किसुनजीलाई हराएर विद्या भण्डारीलाई जिताइयो ।

आइजिपी मोतीलाल बोहोराले मलाई भाग्न पनि भने । किनभने ममाथि आक्रमण हुने जोखिम थियो । गृहमन्त्री देउवाले पक्राउ गर्न निर्देशन दिएका थिए । तर, उनको आदेश प्रहरीले मान्दैनथ्यो । गिरिजाको पावरको अगाडि शेरबहादुर पनि निरीह थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।