काठमाडौं – उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सिमा विवाद केपी ओलीको सरकारमा आएको नभन्न आग्रह गरेका छन् । उनले सीमा बचाऔं अभियानकर्मीहरूले तयार पारेको नक्सा ग्रहण गर्दै सीमा विवादमा वर्तमान सरकारलाई दोष लगाउन नमिल्ने बताएका हुन् ।
‘सीमा विवाद हिजोदेखिकै हो, केपी ओली सरकारको पालामा आएर यस्तो भएको नभन्नुहोला’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘कतिपय ठाउँमा मान्छेहरूले यही सरकारको पालामा यस्तो भएको हो कि भन्ने कुरा बोल्न बोल्न लागेको बुझेको छु ।’
मन्त्री पोखरेलले सीमा रक्षामा सेनालाई सक्रिय बनाउँदै लगेको बताएका छन् । सीमा विवाद समाधानका लागि प्रधानमन्त्रीकै तहमा कूटनीतिक पहल भइरहेको उनले बताए ।
सरकारले नापनक्सा समितिमा नेपाली सेनालाई राख्ने निर्णय गरेको छ । उनका अनुसार लिम्पियाधुरासहित समेटेर नेपालको नक्सा बनाउन गृहकार्य सुरु भइसकेको छ । जग्गा नापजाँच नियमावली २०५८ देखि समितिमा सेनालाई हटाइएको थियो ।
‘सिंगो मुलुक एक ठाउँ छ । सबैको स्वर एउटै छ’, उनले भने, ‘सरकारका लागि यो अवसर हो ।’
पहिला नक्सामा लिम्पियाधुरासम्मै नेपालको भएको तर पछि गायब भएको उपप्रधानमन्त्री पोखरेलको भनाइ छ । ‘चुच्चो नक्सा कुन बेलादेखि गायब भयो छाम–छाम छुमछुम गर्ने हो भने परैसम्म पुगिन्छ’ उनले भने, ‘हाम्रो ध्यान नपुगेर वा असावधानीवश हो कि ? लघुताभासबाट ग्रस्त भएर हो कि ? स्वार्थवश हो कि ? वा तथ्य प्रमाण नभएर हो कि ?’
अभियानका संयोजक भैरव रिसाल, डा. द्वारिकानाथ ढुंगेल, सोनाम साथी, हिरण्यलाल श्रेष्ठ, कमल बराललगायतले सुगौली सन्धिअनुसारको पश्चिम नेपालको सीमा कायम भएको नक्सासहित उपप्रधानमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए ।




प्रतिक्रिया