काठमाण्डु – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबाट संविधान र सङ्घीयताको रक्षा भएको बताएका छन् ।
पाँचदलीय गठबन्धनको कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्न आइतबार सुर्खेत पुगेका प्रधानमन्त्री देउवाले गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताए । परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिएकाले गठबन्धन लामो समयसम्म रहने उनले दाबी गरे ।
प्रधानमन्त्री देउवाले भने, “संविधानलाई टोकरीमा फ्याँकिदिने काम गरेकाले गठबन्धन जन्मिएको हो । यसको जीतका लागि सबै मिल्नुको विकल्प छैन । गठबन्धनविरुद्ध उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्न आग्रह गर्दछु ।” उनले कर्णालीमा अझ गठबन्धन आवश्यक भएकाले एक भएर लाग्न प्रदेशका नेता तथा कार्यकर्तालाई अनुरोध समेत गरे ।
कर्णाली आर्थिक समृद्धिको प्रमुख आधार भएको बताउँदै प्रधानमन्त्री देउवाले यहाँको विकास र समृद्धिका लागि सरकार लागिरहेको जनाए । “गठबन्धन दललाई यो चुनावमा जिताउनुस्, पाँच वर्षभित्रै हामी परिणाम देखाउँछौँ”, उनले भने ।
सो संयुक्त भेलालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली तथा सुदूरपश्चिमले खेलेको भूमिकालाई गठबन्धनले गहिरो अनुभूति गरेको र त्यसको न्याय गर्न नेतृत्व सचेत रहेको बताए । कर्णालीबाट नै प्रतिगमनविरुद्धको विद्रोह भएको उनको भनाइ थियो ।
“प्रतिगमनविरुद्ध यो गठबन्धन जन्मेको हो । यसलाई कसैले पनि हल्का रुपले लिनु हुँदैन”, अध्यक्ष दाहालले भने, “यसले संविधान, सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक, समावेशिताको रक्षा गरेको छ । त्यसैले संविधान मिच्नेका विरुद्धको यो गठबन्धन हो ।”
गठबन्धनले कर्णालीमा शत्प्रतिशत जित्ने पूर्ण विश्वास लिएको बताउँदै उनले कर्णालीको विकास र राजनीतिक स्थिरताका लागि जीत आवश्यक रहेको जनाए । गठबन्धन निर्माण भएबाट प्रतिगमनलाई परास्त गर्दै आएको र यो चुनावबाट पनि परास्त गरिने उनले दाबी गरे ।
उत्तेजित नभई संयमताका साथ चुनावी सफलता हात पार्नेगरी गठबन्धनका नेता तथा कार्यकर्तालाई अभियानमा कटिबद्धताका साथ लाग्न अनुरोध गर्दै उनले आर्थिक क्रान्तिसहित मुलुकको समृद्धिका लागि पनि गठबन्धनको विजय अपरिहार्य रहेको र यसका निम्ति गठबन्धनका नेताहरुबीचको विचार र भावनाको गहिरो एकताको सन्देश लिएर देशभरि हिँडेको बताए ।
युद्धलाई शान्तिमा रुपान्तरण गर्न तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, आफू र माधव नेपालको धेरै ठूलो योगदान रहेको स्मरण गर्दै उनले इतिहासको मुद्दालाई महानताका साथ लगिएको र त्यही अनुसार अघि बढ्न अपिल गरे ।




प्रतिक्रिया