काठमाण्डु – शुक्रबार नेपालमा पहिलो पटक कोदो दिवस मनाइयो । सरकारले ‘कोदोजन्य परिकारको आहार ः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ पहिलो पटक विभिन्न कार्यक्रम आयोजना गरी प्रथम राष्ट्रिय कोदो दिवस मनायो ।
कोदो नेपालको धान, मकै र गहुँपछिको चौथो बाली हो । कोदोमा प्रोटिन, फाइबर, एन्टिअक्सिडेन्ट प्रशस्त हुनुकासाथै नसर्ने रोगहरूको जोखिम घटाउने क्षमता समेत हुन्छ ।
त्यसैले पनि कोदोलाई बहुगुणी अन्नका रूपमा पनि चिनिन्छ । ‘गरिबको खाना’ का रूपमा मात्र सिमित राख्दा कोदोको उत्पादन उपेक्षामा परेको थियो ।
तर केही समय यता कोदो उच्च प्राथमिकतामा पर्न थालेको छ । विभिन्न होटलमा समेत कोदोको ढिँडो, मःम, पिज्जा, रोटी जस्ता विभिन्न परिकारहरू पाउन थालिएको छ ।
त्यति मात्र होइन, सरकारले कोदोको प्रवद्र्धनको लागि यस वर्षदेखि साउन १६ लाई राष्ट्रिय कोदो दिवस घोषणा गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका कृषि उद्यम केन्द्रका सभापति र कोदो तथा फापर संघका अध्यक्ष डिबी बस्नेतले अहिले नेपालमा २० प्रजातिका कोदोहरू उत्पादन भइरहेको जानकारी दिए ।
जसमध्ये कतिपय लोप हुँदै गइरहेको छ । उनले अहिले हाईब्रिडको बिऊले प्राथमिकता पाउँदै गएको बताए । उनले भने,‘अहिले हेर्दा नेपालमा पाइने कोदो झण्डै २० प्रजातिका छन् । तर ती कतिपय लोप हुने अवस्थामा पनि छन् । परम्परागत रैथाने बालीहरु विस्तारै लोप हुँदै गइरहेको छन् । हाईब्रिडको बिऊले प्राथमिकता पाउँदै गरेका छन् ।’
कोदोको महत्व सरकारले बुझेर साउन १६ लाई कोदो दिवस मनाउने घोषणा गर्नु एकदमै सान्दर्भिक रहेको उनी बताउँछन् ।
कोदो खेतीलाई सान्दर्भिक बनाउन आवश्यक रहेको बताउँदै उनले पहाडतिर मानिसको बस्ती विस्तार पातलो हुँदै गएका कारणले उत्पादनमा अप्ठ्यारो भएको सुनाए ।
नेपाली उत्पादनले नेपाली बजारमा नै नपुग्दा आयात गर्नुपर्ने बाध्यता रहेकाले नेपालको उत्पादनले नै पुग्नेगरी अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
यो वर्षपनि झण्डै ७२ करोड रुपैयाँ जतिको कोदो बाहिरबाट नेपाल आएको छ । सामान्य मेहेनतले पनि कोदो उत्पादन हुने भएकाले कोदो उपयोगी र सजिलो बाली रहेको विज्ञहरुको भनाइ छ । तर अब कोदोको विकास र प्रवद्र्धन गर्ने खालका नीतिहरु ल्याउनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
कोदो अहिले २ लाख २५ हजार हेक्टर जमिनमा खेती भइरहेकाले आयात घटाएर निर्यात बढाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ । यतिबेला नेपालमा कोदोे ठूलो मात्रामा आयात र न्यून निर्यातबाट गुज्रिएको अवस्थामा रहेको विज्ञहरुको भनाइ छ ।
कृषि तथ्याङ्क आर्थिक वर्ष २०८०/८१ अनुसार २ लाख २४ हजार ८ सय ३५ हेक्टर क्षेत्रफलमा कोदो खेती भएको छ भने ३ लाख सात सय मेट्रिक टन कोदो उत्पादन भएको छ ।
७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८,३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात भएको छ भने ९४ लाख बराबरको ७० मेट्रिक टन मात्र निर्यात भएको छ । यसरी सरकारले कोदोलाई प्राथमिकतामा राख्ने यो पहलले उत्पादन बढाई आयातमा कमि हुने सम्भावना देखिएको छ ।




प्रतिक्रिया