कोहलपुर तनावग्रस्त : कर्फ्यू जारी, के भएकाे थियाे ?

कोहलपुर तनावग्रस्त : कर्फ्यू जारी, के भएकाे थियाे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोहलपुर – बाँकको कोहलपुरमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यू जारीको आदेश दिएको छ । कोहलपुरमा केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी दिउँसो तीन बजेदेखि कर्फ्यू लगाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए ।

आइतबार बिहान कोहलपुर–नेपालगञ्ज सडकस्थित हाईस्कुल चोकमा एक स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर अहिले तनावग्रस्त बनेको छ ।

के भएको थियो कोहलपुरमा ?

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब निरीक्षक हस्तबहादुर सुनारका अनुसार कोहलपुर–नेपालगञ्ज सडकखण्डस्थित हाईस्कुल चोकमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ । कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको हो । दुर्घटनालगत्तै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ट्रकमा आगो लगाइदिएका छन् ।

प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ । झडपमा केही प्रहरी र प्रदर्शनकारी पनि घाइते भएका छन् । आक्रोशित विद्यार्थीहरुले सडकमा रहेका गाडीमासमेत ढुङ्गा प्रहार गरेका छन् । कोहलपुरबाट नेपालगञ्ज आउँदै गरेको मालवाहक ट्रकले विद्यालयमा अध्ययनरत विद्यार्थी चन्दलाई ठक्कर दिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कोहलपुरबाट नेपालगञ्जतर्फ आइरहेको ट्रक ना२ख ९४५९ नंको ट्रकको ठक्करबाट  गम्भीर घाइते भएकी प्रकृति आफ्ना बुबासँग मोटरसाइकलमा विद्यालय आएकी थिइन्। जेब्राक्रसिङ नजिकबाट सडक पार गर्ने क्रममा सोही दिशाबाट आएको ट्रकले ठक्कर दिँदा प्रकृतिलाई केही परसम्म घिसारेर लगेको थियो । “ट्रकले कुल्चँदा प्रकृतिको एउटा खुट्टा शरीरबाट अलग भएको छ । खुट्टाको हड्डी सडकमा छरपस्ट छ ।”

दुर्घटनामा प्रकृतिको बुबासमेत घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रकृति र उनको बुबालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको छ । विद्यालय प्राङ्गण नजिक भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थी तथा स्थानीयवासीले ट्रक नियन्त्रणमा लिएर तोडफोड तथा आगजनी गरेका थिए ।

लगत्तै आक्रोशित भएको भीडलाई नियन्त्रण गर्न आएको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीमाथि समेत विद्यार्थी ढुङ्गा, इँट्टा प्रहार गर्दै आन्दोलित बनेका छन् । ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि आक्रोशित बनेका विद्यार्थीले अन्य दर्जनौं सवारी साधनमाथि समेत प्रहार तोडफोड गरेका छन् । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ ।

दुर्घटनापछि कोहलपुरमा धेरै सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । विद्यार्थीलाई प्रहरीले लाठी प्रहार गरेपछि आक्रोशित स्थानीय बासिन्दा र अभिभावक पनि भीडमा मिसिएका छन् । प्रहरीले भीडलाई हटाउन हवाई फायरसमेत गरेको छ । आक्रोशित विद्यार्थीले सडक ठप्प पारिदिएका छन् भने कोहलपुर बजार बन्द भएको छ । झडपमा डीएसपी शाहीसहित ९ जना प्रहरी र विद्यार्थी घाइते भएका छन् ।