काठमाण्डु— कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले नेपालमा आफ्नो विकास साझेदारीको ३० वर्ष पूरा गरेको अवसरमा आज विशेष समारोह आयोजना गर्दै तीनवटा ठूला परियोजनामा सम्झौता गरेको छ।
गण्डकी प्राविधिक संस्थान: सन् २०२५ देखि २०३० सम्म कार्यान्वयन हुनेगरी नौ मिलियन अमेरिकी डलरको लगानीमा गण्डकी प्राविधिक संस्थान स्थापना गरिनेछ। सम्झौतामा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालस्थित कोरियाली राजदूत पार्क ते–यङ्गले हस्ताक्षर गरे।
फलफूल तथा तरकारी मूल्य शृंखला विकास परियोजना (दोस्रो चरण) :सन् २०२५–२०३१ सम्म सञ्चालन हुने यो कार्यक्रमको बजेट १० मिलियन डलर छ। सम्झौतामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा। हरिबहादुर केसी र कोइका नेपालका देशीय निर्देशक मूहन कोङले हस्ताक्षर गरे।
सुदूरपश्चिम पोलिटेक्निक इन्स्टिच्युट: १० मिलियन डलरको लगानीमा सन् २०२५–२०३० सम्म सुदूरपश्चिम पोलिटेक्निक इन्स्टिच्युट स्थापना गरिनेछ। सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा र निर्देशक मूहनले हस्ताक्षर गरे।
समारोहमा निर्देशक मूहनले शिक्षा, स्वास्थ्य, कृषि र सुशासनमा कोइकाको प्राथमिकता रहेको उल्लेख गर्दै नेपाल–कोरिया साझेदारीलाई अझ दिगो र समावेशी बनाउन प्रतिबद्धता जनाए।
नेपालका लागि कोरियाली राजदूत पार्क ते–यङ्गले ३० वर्षे यात्रालाई मित्रताको प्रतिविम्ब बताए भने परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानाले नेपालका दिगो विकास लक्ष्य हासिल गर्न कोइकाले पुर्याएको योगदानको प्रशंसा गरे। पोखरा महानगर प्रमुख धनराज आचार्यले पनि सहकार्यलाई अझ विस्तार गर्न नेपाल सरकार तत्पर रहेको बताए।
सन् १९९१ देखि कोइकाले नेपालमा स्वास्थ्य, शिक्षा, कृषि, प्राविधिक तालिम, ग्रामीण विकास, सूचना प्रविधि र पर्यटन क्षेत्रमा सहयोग गर्दै आएको छ। हालसम्म २,९२१ जना कोरियाली स्वयंसेवक नेपाल आएका छन् भने २,२३० जना नेपाली निजामती कर्मचारीले क्षमता अभिवृद्धि कार्यक्रममा सहभागिता जनाएका छन्।
सन् २०१० मा नेपाललाई प्राथमिकता सूचिमा राखेपछि सहयोग तीव्र बनेको हो। सन् २०२५ सम्म पुग्दा कोइकाको कुल सहयोग २०० मिलियन अमेरिकी डलर नाघेको छ। अबको विकास सहयोगसम्बन्धी नयाँ रूपरेखा सम्झौता प्रक्रियामा रहेको र यसले नेपाल–कोरिया सम्बन्धलाई अझ सबल बनाउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया