काठमाण्डु – कोलम्बियाका राष्ट्रपति इभान ड्युक सवार हेलिकप्टरमाथि गोली प्रहार भएको छ । भेनेजुएलाको सीमा नजिकै उडिरहेका बेला गोली प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हेलिकाेप्टरमा गोली लागे पनि त्यहाँ सवार सबै जना सकुशल रहेको बताइएको छ । हेलिकाेप्टरमा राष्ट्रपतिसहित दुई मन्त्री र नार्ते डि सान्तान्डेर प्रान्तका गभर्नर सवार रहेको जनाइएको छ ।
उक्त घटनापछि त्यसलाई राष्ट्रपति ड्युकले ‘कायरतापूर्ण हमला’को संज्ञा दिएका छन्। साथै यस किसिमको ‘हिंसात्मक हमला वा आतंकवाद’बाट आफू रक्तिभर नडराउने बताएका छन्।
‘हाम्रो मुलुक यस किसिमको धम्कीसँग जुध्न सक्षम छ’, राष्ट्रपति ड्युकले भनेका छन्, ‘हाम्रा सुरक्षा दस्ताले त्यसमा जिम्मेवार समूहको खोजी गरिरहेका छन्।’
स्थानीय पत्रकारका अनुसार हेलिकप्टर ल्यान्ड हुने बेला गोली लागेको थियो । हेलिकप्टरमा सवारहरूले इन्जिनमा केही भए जस्तो आवाज सुनेका थिए । आक्रमणमा लेफ्टिस्ट नेशनल लिबरेशन आर्मी जिम्मेवार रहेको हुनसक्ने जनाइएको छ ।




प्रतिक्रिया