काठमाडौं – राष्ट्रिय सभा सदस्य कोमल वलीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) लाई संसदबाट पारित गर्नुपर्ने बताएकी छन् ।
राष्ट्रिय सभाको आइतवार बसेको बैठकको विशेष समयमा बोल्दै उनले एमसिसीलाई सबै राजनीतिक दलले समर्थन गरिसकेकाले अब संसदबाट पारित गरिनुपर्ने बताएका हुन् ।
‘एमसीसीलाई सबै राजनीतिक दलले समर्थन गरेका छन् । कुनै पनि दलले निर्णय नै गरेर यसको विरोध गरेका छैनन्’, उनले भनिन्, ‘कांग्रेसले पनि एमसिसी आउनुपर्छ भनिरहेकै छ । एमसिसीबारेमा हामी कतै चुकिरहेका त छैनौँ । जनतालाई बुझाउन हामी चुकिरहेका त छैनौँ ।’
उनले भनिन्, ‘अमेरिकी दूतावासले यहाँ सेना ल्याउने होइन भनिसक्यो । विश्वसामू हामीभित्र नै एकता छैन् भन्ने खालको, हाम्रै छविमा आँच आउने खालको काम गर्यौं भने परिणाम के होला ? यति ठूलो राशीको सहयोग छ ।’
सांसद वलीले सरकारले जनतालाई कुरा बुझाउन नसक्दा मानिसहरुले भ्रम फैल्याइरहेका जिकिर गरिन् । ‘सरकारले किन जनतालाई बुझाउन नसकेको हो ? पहिलो दायित्वबाट सरकार किन चुकिरहेको छ ?,’ उनले अगाडि थपिन्, ‘बरु दूतावासले बुझाउन थालिसकेको छ । दातृनिकाय वा उसले जनता हाम्रा जनतालाई बुझाउनुपर्ने त होइन होला ।’
एमसिसीमा देखिएको लफडाले भोलिका दिनमा अन्य दातृनिकाय पनि भड्किने उनले बताइन् । ‘यस्तो लफडाले अरु पनि दातृनिकाय तर्सिन सक्छन् भविष्यमा । हामी विकासोन्मुख मुलुक हौँ, हामीलाई सहयोग चाहिन्छ’, उनले थपिन्, ‘अमेरिकाले एमसिसी इन्डो प्यासिफिक स्ट्रटेजीसँग सम्वद्ध छैन भनिसकेको छ । अब हरेक कुरामा प्रश्न उठाएर हाम्रै छविमा आँच आउने काम गर्यौँ भने के हुन्छ ?’
उनले ठूला दलहरु नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसले यसबारेमा कुनै प्रश्न नउठाएको बताइन् । ‘ठूला दलहरुले त केही भनेका छैनन् । एमसिसीबारे नकारात्मक कुरा उठाउनु ठीक होइन, यसका सबै कुरा प्रष्ट छन्’, उनले थपिन्, ‘संसदले एमसिसी अनुमोदन गरोस । यसलाई कार्यान्यनमा लैजान ढिला गर्नु हुँदैन ।’




प्रतिक्रिया