काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की राष्ट्रिय सभा सांसद कोमल वलीले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएका मेडिकल कलेजले शुल्क फिर्ता दिनुपर्ने माग गरेकी छिन् ।
सोमबार राष्ट्रिय सभामा बोल्दै वलीले प्रधानमन्त्री केपी शर्मा ओलीले नै मेडिकल कलेज सञ्चालकलाई अतिरिक्त शुल्क फिर्ता गर्न निर्देशन दिनुपर्ने बताइन् ।
‘चिकित्सा शिक्षा आयोगको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ताका लागि पनि उहाँले नै निर्देशन दिनुपर्छ,’ उनले भनिन् ।
मेडिकल कलेज सञ्चालकहरूले अतिरिक्त शुल्क फिर्ता गर्ने प्रतिवद्धता जनाए पनि अहिलेसम्म विद्यार्थीले पैसा पाएका छैनन् । ‘विद्यार्थीले अतिरिक्त शुल्क फिर्ता पाएका छैनन् । उनीहरू पुनः आन्दोलनको तयारीमा छन्,’ सांसद वलीले भनिन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पनि शुल्क फिर्ताबारे के भइराखेको छ सदनलाई जानकारी दिनुपर्ने उनको माग छ ।
सांसद वलीले उखु किसानमाथि निजी क्षेत्रले गरेको अन्याय सहनै नसकिने बताएकी छन् ।
‘बिहान खाएर बेलुका छाक टार्न समस्या पर्ने किसानहरुलाई शोषण गरेर निजी क्षेत्र कस्तो सन्देश दिन खोजेको ?’, उनले प्रश्न गरिन्, ‘किसानलाई दुःख दिएर, उनीहरुको रकम भुक्तानी नदिएर के गरेको ? यो तरिकाले सरकार र निजी क्षेत्रको सहकार्य कसरी अघि बढ्छ ?’
सांसद वलीले उखु किसानको रकम १५ दिन भित्र भुक्तानी नगरेमा सरकारले कारवाही प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिइन् । ‘उखु किसानमाथिको शोषणले निजी क्षेत्रमाथि प्रश्न उठेको छ । यस्तो प्रवृत्तिविरुद्ध सरकाले लगाम कसोस्, १५ दिनभित्र भुक्तानी नगरे कारवाही हुनुपर्छ’, उनले भनिन्, ‘किसानको अहिलेसम्मको सबै रकम सुगर मिलहरुले भुक्तानी गर्नुपर्छ, यदि त्यसो नभए उनीहरुमाथि कानुनी डण्डा चलाउनुपर्छ ।’




प्रतिक्रिया