कोशीको प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखलाई पुनः स्मरण


काठमाण्डु- कोशी प्रदेश सरकारले प्रदेश प्रमुखलाई प्रदेशसभा बैठक सञ्चालन पुनः स्मरण गराएको छ । बुधबार बसेको मन्त्रिपरिषद्कको बैठकले प्रि-बजेटबारे छलफल गर्न प्रदेशको बजेट अधिवेशन आह्वान गर्न यसअघि नै सिफारिस पुनः स्मरण गराउने निर्णय गरको हो ।

कोशी सरकारले जेठ ११ गते प्रदेश सभाको अधिवेशन आह्वान गर्न गत चैत २६ गते सिफारिस गरेको थियो । तर, एमाले-माओवादीका ५२ सांसदको मागअनुसार वैसाख ६ गते प्रदेश प्रमुख पर्शुराम खापुङले विशेष अधिवेशन आह्वान गरेका थिए । सो बैठकले संकल्प प्रस्ताव पारित गरी सरकार अल्पमतमा परिसकेको जनाउ दिदै विश्वासको मत लिन भनेको थियो ।

 मुख्यमन्त्री केदार कार्कीले भने संकल्प प्रस्ताव संबिधान विपरित भएको भन्दै विश्वासको मत लिन अस्वीकार गरेका छन् । संकल्प प्रस्ताव पारित भएपछि विश्वासको मत लिने समय मंगलबार सकिएको छ ।

सरकारले सिफारिस गरे पनि प्रदेश प्रमुख खापुङले बजेट अधिवेशन अहिलेसम्म आह्वान गरेका छैनन् । अर्को तर्फ एमाले-माओवादीले प्रदेश प्रमुखलाई सरकार गठनको नयाँ प्रक्रिया थाल्न आग्रह गरेका छन् र प्रदेश प्रमुखले सोहि अनुसार कानुनी परामर्श गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement