कोशीका मुख्यमन्त्री कार्कीको नियुक्तिविरुद्ध परेको रिट हेर्दाहेर्दैमा

कोशीका मुख्यमन्त्री कार्कीको नियुक्तिविरुद्ध परेको रिट हेर्दाहेर्दैमा

File photo

काठमाण्डु – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध परेको रिट आईतबार हेर्दाहेर्दैमा रहेको छ ।

सर्वाेच्च अदालतका न्यायाधीश कुमार रेग्मी, नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासमा आईतबार सुनुवाइ भए पनि हेर्दाहेर्दैमा राखिएको छ ।

नेपाली कांग्रेसका केदार कार्कीले आफूलाई अपदस्थ गरी एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २६ गतेभित्र केदार कार्कीले विश्वासको मत नलिएको भन्दै संविधानको धारा १६८(५) अनुसार सरकार गठनका लागि आह्वान गरेका थिए । एमाले र माओवादीका ५२ जना बहुमत सांसदले हिक्मतलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेपछि हिक्मत नियुक्त भएका थिए ।

संविधानको धारा १६८(५) अनुसार बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिन नमिल्ने जिकिर गर्दै रिटमा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गरेको आह्वान, निर्णय, पत्राचार एवं सूचना बदर गर्न माग गरिएको छ ।