कोशी प्रदेशसभा रेकर्डबाट हट्यो ‘राजा’

कोशी प्रदेशसभा रेकर्डबाट हट्यो ‘राजा’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी प्रदेशसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद सविना बजगाईंले प्रयोग गरेको ‘राजा’ शब्द रेकर्डबाट हटाइएको छ ।

सांसद बजगाईंले ‘राजा’ शब्द प्रयोग गरेको भन्दै नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेपछि सभामुख अमम्बरबहादुर विष्टले रेकर्डबाट हटाउन रुलिङ गरे ।

आईतबारको बैठकको शुन्य समयमा बोल्दै राप्रपाकी सांसद बजगाईंले राजाले प्रजातन्त्र दिवसमा जनतालाई शुभकामना दिएको विषयमा केही नेताहरूले राजालाई थुन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाइन् । उनले विदेशबाट आएको डलरको भरमा यस्ता अभिव्यक्ति आएको र हिम्मत भए थुनेर देखाउन चुनौती दिएकी थिइन् ।

‘राजाले प्रजातन्त्र दिवसमा जनतालाई शुभकामना दिएको विषयमा केही नेताहरूले राजालाई थुन्ने अभिव्यक्ति दिएको विषयको भर्त्सना गर्दछु । विदेशबाट आएको डलरको भरमा यस्ता अभिव्यक्ति आएकाले हिम्मत भए थुनेर देखाउनुस्,’ बजगाईंले भनिन् ।

सांसद बजगाईंले बोलेपछि नेकपा एमालेका प्रमुख सचेतक विदुकुमार लिंथेप उठेपछि सभामुखले बोल्न समय दिए । प्रमुख सचेतक लिंथेपले राजाले बोलेको विषयमा डलर खानेहरू भनेर अप्रमाणित विषय सदनमा बोलेको भन्दै प्रमाण भए पेश गर्न, नभए आरोप फिर्ता लिन चुनौती दिए ।

विदेशबाट आएको डलरका भरमा नेताहरूले अभिव्यक्ति दिएको आरोप प्रमाणित गर्न उनले चुनौती दिए । त्यसपछि प्रदेश सभामा सांसदहरूबीच केहीबेर सवालजवाफ चल्यो ।

सभामुख विष्टले सांसदहरूको सवालजवाफ सुनेपछि डलर खाएर नेताहरूले अभिव्यक्ति दिएको विषय प्रमाणित नभएको भन्दै रेकर्डबाट हटाउन रुलिङ गरेका हुन् ।