विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अवलोकन गरेका छन् ।
अनुगमनपछि प्रदेश सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीहरूसँगको छलफलमा मुख्यमन्त्री कार्कीले आन्दोलनले प्रदेशलाई ठूलो नोक्सानी पुर्याएको उल्लेख गर्दै कर्मचारीलाई त्रासमुक्त भएर कार्यस्थलमा फर्किन निर्देशन दिए ।
उनले दशैंअघि नै कार्यालय सञ्चालनको सम्पूर्ण व्यवस्थापन मिलाउन आदेश समेत दिएका छन् ।
‘देशमा विषम परिस्थिति आएको छ । तर हामी सबै मिलेर यो अवस्थाको सामना गर्नुपर्छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘घटनाले हामीलाई २० वर्ष पछाडि धकेलेको छ । विभिन्न आन्दोलन भए तर यति ठूलो भौतिक क्षति पहिले कहिल्यै भएको थिएन ।’
सो अवसरमा उनले मंगलबारैदेखि प्रदेश सरकार सञ्चालनमा आएको घोषणा गर्दै असोज २ गते मन्त्रिपरिषद्को बैठक बसेर थप निर्णय गर्ने जानकारी दिएका छन् । छलफलमा मन्त्रालयगत क्षतिको विवरण प्रस्तुत गर्दै प्रदेशका सचिवहरूले बाँकी संरचनाबाटै केही दिनभित्र सेवा सुचारु गर्ने आश्वासन दिएका थिए ।
प्रमुख सचिव चन्द्रकला पौडेलले प्रदेशको वस्तुस्थितिबारे मुख्यमन्त्रीलाई जानकारी गराइन् । प्रदेश सरकारले भदौ २३ र २४ गतेको आन्दोलनमा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । प्रदेशभरका ४२ वटा सरकारी भवन क्षतिग्रस्त भएकोमा १८ वटा पूर्णरूपमा र २४ वटा आंशिक रूपमा नोक्सान पुगेका छन् ।
आन्दोलनकारीले प्रदेश सरकार मातहतका २३७ वटा सवारीसाधनमा क्षति पुर्याएको पाइएको छ । तीमध्ये ७५ वटा चारपांग्रे सवारीसाधनमध्ये ६४ वटा पूर्णरूपमा ध्वस्त भएका छन् भने ११ वटामा आंशिक क्षति पुगेको छ । मोटरसाइकलतर्फ १६१ मध्ये १४४ वटा पूर्णरूपमा र १७ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।




प्रतिक्रिया