कोशी सरकारमा मन्त्रिपरिषद् पुनर्गठन, ८ मन्त्री र २ राज्यमन्त्रीद्वारा शपथ ग्रहण

कोशी सरकारमा मन्त्रिपरिषद् पुनर्गठन, ८ मन्त्री र २ राज्यमन्त्रीद्वारा शपथ ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीहरूलाई सरकारमा सहभागी गराएका छन् ।

मुख्यमन्त्री कार्कीले यसअघिका सबै मन्त्रीहरूलाई हटाएर सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले बिचको सहमतिअनुसार नयाँ मन्त्रिपरिषद् गठन गरेका हुन् ।

मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूलाई शपथ गराएका हुन् ।

नयाँ मन्त्रिपरिषद्मा सत्ता साझेदार एमाले र कांग्रेसबाट ४–४ जना मन्त्री र १–१ जना राज्यमन्त्री सहभागी गराइएको छ । सत्ता साझेदार दलहरूबिच भएको भागबण्डाअनुसार मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

नयाँ मन्त्रिपरिषद्अनुसार प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् । भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् भने तिलचन पाठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन् ।

यस्तै, विदुरकुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन् । रामप्रसाद महतो सामाजिक विकास मन्त्री बनेका छन् भने मानबहादुर लिम्बूले स्वास्थ्य मन्त्रालय सम्हालेका छन् । इसाईल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

राज्यमन्त्रीतर्फ शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएकी छन् भने उमाकान्त गौतम आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनेका छन् ।

शपथ ग्रहणपछि मुख्यमन्त्री कार्कीले सरकारको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले मन्त्रिपरिषद् पुनर्गठन गरिएको जानकारी गराए । उनले प्रदेश सरकारलाई जनउत्तरदायी, नतिजामुखी र स्थिर बनाउने लक्ष्यका साथ नयाँ टीमलाई जिम्मेवारी दिइएको बताएका छन् ।