कोशी प्रदेशसभामा अध्यादेश पेस

कोशी प्रदेशसभामा अध्यादेश पेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेश सभाको नवौँ अधिवेशनको बुधबार बसेको पहिलो बैठकमा ‘प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३ सभामा पेस भएको छ ।

कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतोले विधेयक पेस गर्दै विधेयकले प्रदेश खेलकुदलाई सक्षम एवं सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

बैठकमा नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले चालु अधिवेशनको सफलताको शुभकामना दिँदै अधिवेशनले सार्थकता पाओस् भनेका छन् । उनले सरकारले ल्याउन लागेको वार्षिक नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेट्न सकोस् भन्दै गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले मुलुकलाई नयाँ ढङ्गले अधि बढाउन प्रेरित गरेको कुरामा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेङ्याङबो लिम्बूले अधिवेशनको शुभकामना दिने क्रममा संसदीय प्रणाली एवं व्यवस्था जीवित राख्न सरकार गम्भीर हुनुपर्ने कुरामा जोड दिए ।

कोशी प्रदेश सरकारले बिहीबार अपराह्न ३:०० बजे आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम पेस हुनेबारे सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए ।