कोशी प्रदेश: कुन दलको नेतृत्वमा बन्ला सरकार ?

कोशी प्रदेश: कुन दलको नेतृत्वमा बन्ला सरकार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोशी प्रदेशमा राजनीतिक दलहरु नयाँ सरकार गठन गर्ने कसरतमा जुटेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट शुक्रबार विश्वासको मत मागेका थिए । उनले विश्वासको मत नपाएसँगै प्रमुख राजनीतिक दलहरु नयाँ सरकार गठनको कसरतमा जुटेका हुन् ।

यसैबीच आइतबार मात्रै प्रदेश प्रमुख परशुराम खापुङले दलहरुलाई सरकार गठनका लागि आह्वान गरेका छन्। प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नै नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

यस अन्तर्गत कुनै पनि दलको स्पष्ट बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलको नेतृत्वमा सरकार गठन हुने प्रावधान रहेको छ। प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेसँगै अब दुई वा दुईभन्दा बढी दल मिलेर संयुक्त सरकार गठन गर्नुपर्नेछ। उनले दलहरुलाई सरकार गठनका लागि बहुमतसहित दावी पेस गर्न पाँच दिनको समय दिएका छन् । हालसम्म यहाँ कुन दलको नेतृत्वमा सरकार बन्छ ? भन्नेबारे अन्यौल छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट शुक्रबार विश्वासको मत माग्दा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा उनको पक्षमा उभिएको थियो । त्यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी विपक्षमा उभिदा जनता समाजवादी पार्टी जसपा भने तटस्थ बसेको थियो । हाल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने बताइरहेको छ । यसका लागि कांग्रेसले अन्य दलहरुसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।

यता केन्द्रमा सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने दाबी गरिरहेको छ, भने नेकपा एसले पनि आफ्नो नेतृत्वमा सरकार गठन नहुने अडान राखेको छ । एमाले नेतृत्वको सरकार ढाल्न एकजुट भएका यी तिन दल नै नयाँ सरकार गठन प्रक्रियामा आ आफ्नो अडानमा छन् । यता मुख्यमन्त्री पद गुमेपछि कार्कीले भने सर्वदलीय सरकारका विषयमा छलफल गर्न तयार रहेको बताएका छन्। यद्पि ठूलो दलको हैसियतामा आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन हुनुपर्ने उनको दाबी छ।

प्रमुख तीन दलले सरकार आफ्नो नेतृत्वमा बनाउने दाबी गरे पनि प्रदेशसभाको अंकगणित हेर्दा कुनै पनि दललाई बहुमत पुर्‍याउन सहज छैन। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। गठबन्धनमा रहेको कांग्रेसको २९, माओवादी केन्द्रको १२, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको १ गरी ४६ मत पुग्छ। ४० सिटको नेकपा एमाले र ६ सिटको राप्रपा एक ठाउँमा छन्। दुई दलसँग पनि ४६ मत नै छ।