कोशीको मुख्यमन्त्रीमा कांग्रेस विभाजित ! कार्की र आङ्बोको दाबी पेश


विराटनगर – कोशी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेश गर्ने बेला नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरू विभाजित भएका छन् ।

कांग्रेसको संस्थापन पक्षका सांसदहरूले नेकपा माओवादी केन्द्रका ईन्द्रबहादुर आङ्बोलाई समर्थन गरेका छन् भने कांग्रेसकै केदार कार्कीले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

कोशी प्रदेश प्रमुखसामु नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् । सत्तारुढ गठबन्धनको निर्णयअनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको हस्ताक्षरबाट आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

तर नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले एमालेको समर्थनमा छुट्टै दाबी पेश गरेका छन् । कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्कीले प्रदेश प्रमुखसामु दाबी पेश गरेका छन् । कोशी प्रदेशमा मुख्यमन्त्री बन्न ४७ मत पुगेमा बहुमत पुग्छ ।

कांग्रेस विभाजित भएर दाबी पेश भएको अवस्थामा प्रदेश प्रमुखले कुन दाबीलाई सदर गर्छन् भन्ने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement