कोशीमा कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्छ : महामन्त्री शर्मा


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीमा भएको विद्रोहबारे सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाले जवाफ दिनुपर्ने बताएका छन् ।

सभापति देउवाले बोलाएको उपसभापति र महामन्त्रीहरूको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महामन्त्री शर्माले कोशी विद्रोहबारे बैठकमा आफ्नो धारणा राखेको बताए ।

अब कांग्रेसको मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताउँदै उनले घटनामा सभापति देउवा र नेता कोइराला दुवै जिम्मेवार रहेकाले दुवैले जवाफ दिनुपर्ने बताए ।

गठबन्धन गरिसकेपछि त्यसलाई निभाउनुपर्ने आफ्नो धारणा रहेको बताउँदै उनले कोशीको अवस्था सिर्जना हुनुमा सभापतिको पनि कमजोरी रहेको टिप्पणी गरे ।

उनले भने, ‘कोशीमा कुनै दलको भागमा भनेर निर्णय भएको थिएन । कोशी प्रदेशमा एमाले सहितको सरकार बन्नुपर्छ भन्ने हामी २ महामन्त्रीको जोड थियो । पटक–पटक विश्वासको मत सिद्ध गर्न नसकेको अवस्था आयो । सभापतिले माओवादीको नेतालाई मुख्यमन्त्री बनाउने निर्णयमा पार्टीका हामी २ महामन्त्रीको साथ थिएन तर यसको अर्थ माओवादीले पाउनु हुँदैन भन्ने होइन ।’

सभापतिले निर्णय गरे पनि त्यो निर्णय पार्टीको हुने चलन कांग्रेसमा मात्र नभएर अन्य दलमा पनि रहेको उनले बताए । महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्ड, सभापति देउवा र शेखर कोइरालाबीच सहमति भएको विषयमा आश्चर्य व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement