काठमाण्डु- कोशीमा सरकार परिवर्तनको पहल शुरु भएको छ । केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका केदार कार्कीले राजीनामा नदिएपछि एमाले र माओवादी केन्द्रले विकल्पका बारेमा छलफल शुरु गरेका हुन् ।
कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । तत्कालीन समयमा कांग्रेससँग विद्रोह गरेर एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए । तर, पछि माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सामेल गराएपछि एमाले सरकारबाट बाहिरिएको थियो ।
अब एमालेले मुख्यमन्त्रीलाई नियुक्तिका क्रममा दिएको समर्थन फिर्ता लिएको जानकारी गराउने तयारी गरेको छ । एमाले र माओवादी केन्द्रबीच नयाँ समीकरण बनेकाले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको एमालेकाे छ।
संविधानको धारा १६८ उपधारा (५) बमोजिमको सरकारलाई दिएको समर्थन नै फिर्ता लिने संवैधानिक व्यवस्था संविधानकै धारा १८८ को उपधारा (२) मा स्पष्ट व्यवस्था रहेको एमालेको दाबी गर्दै आएको छ । एमालेले समर्थन फिर्ता लिने भएपछि माओवादी केन्द्रले पनि सरकारबाट राजीनामा दिएर फिर्ता हुने तयारी गरेकाे छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कोशीमा कांग्रेस नेतृत्वको सरकार धरापमा पर्नेछ ।
९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९,माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् ।




प्रतिक्रिया