कोशीका मुख्यमन्त्रीले घाइते बालिकाको उपचार खर्चको जिम्मा लिएपछि हरिसिद्धीको सडक सुचारु

कोशीका मुख्यमन्त्रीले घाइते बालिकाको उपचार खर्चको जिम्मा लिएपछि हरिसिद्धीको सडक सुचारु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका मन्त्रीको गाडीबाट बालिका घाइते भएको दुर्घटनाको जिम्मेवारी कोशी प्रदेश सरकारले दिएको छ ।

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले दुर्घटनामा घाइते भएकी बालिकाको उपचारको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने घोषणा गरेका छन् ।

घाइते बालिकाको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने सहमति भएपछि हरिसिद्धिमा स्थानीय बासिन्दाले थालेको आन्दोलन स्थगित भएको छ । ललितपुर–२८ मा शनिबार बिहान सवा ७ बजेतिर कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री राम राना चढ्ने गाडीले ठक्कर दिँदा हरिसिद्धीकी ११ वर्षीया बालिका उषा सुनुवार घाइते भएकी थिइन् ।

उनको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको जानकारी चिकित्सकले दिएका छन् । ठक्कर दिएर मन्त्रीको गाडी भागेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले सडक अवरुद्ध पारेका थिए ।

पीडित पक्षसहित सम्बद्ध सरोकारवालासहितको वार्तामा घाइतेको उपचार खर्च पीडक पक्षले बेहोर्ने सहमति भएपछि सडक खोल्ने स्थानीय बासिन्दा सहमत भएका हुन् ।

यसअघि नै घटनाको जिम्मेवारी कोशी प्रदेश सरकारले लिइसकेको थियो । मुख्यमन्त्री कार्कीले दुर्घटनामा घाइते भएकी बालिको उपचारको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने घोषणा गरेका थिए ।

मुख्यमन्त्री कार्कीले आफ्नो मन्त्रीको गाडीले दुर्घटना गराएकोले नैतिक जिम्मेवारी लिँदै बालिकाको समूर्ण उपचार गर्ने निर्णय गरिएको जानकारी दिए । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा आइसकेको जानकारी दिए ।

सडक अवरुद्ध हुँदा एमालेको विधान महाधिवेशनका प्रतिनिधिहरू बाटोमै रोकिएपछि कार्यक्रमसमेत प्रभावित भएको थियो । प्रतिनिधि पुग्न ढिलाइ भएपछि महाधिवेशनको दोस्रो दिनको सत्र निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको छ।