बिराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार (आज) विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बिहान ११ बजे प्रदेसभा बैठक बोलाएका छन्।
बिहीबार बसेको बैठकमा आफूले विश्वासको मत नपाउने निश्चित भएपछि प्रदेशसभाहलबाट बाहिरिएका मुख्यमन्त्री र केही मन्त्रीहरू बैठकमा नफर्किएपछि बिहीबार अबेर बैठक स्थगित गर्ने निर्णय भएको थियो।
सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संकटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् । कोशी प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठुलो दल रहेको छ ।
एमाले नेतृत्वको एक मात्र प्रदेश सरकारमाथी विश्वासको संकट उत्पन्न भएपछि मुख्यमन्त्री कार्कीले आज बिश्वासको मत लिन लागेका हुन । एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाईसकेका छन । राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ । कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ ।
जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएमा कोशी सरकार यथावत रहने भएपनि साे पार्टीले तटस्थ बस्ने जनाएपछि मुख्यमन्त्री कार्की अप्ठयाराेमा परेका थिए ।
जसपा नेपालको एक मत रहेको छ । जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा पनि विश्वासको मत पाउने अपेक्षा गरेका मुख्यमन्त्री कार्कीले मत नपाउने भएपछि उनी विश्वासकाे मत पाउने बैठकमा अनुपस्थित हुन परेकाे हाे ।
हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।
जेठ १७ मा जसपाले र जेठ २३ मा माओवादीले साथ छाडेपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेका थिए।




प्रतिक्रिया