सुनसरी– लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ३१ ढोका खोलिएका छन् ।
यो समाचार तयार पार्दासम्म कोशीमा २ लाख ४० हजार क्युसेक पानीको बहाव मापन भएको छ ।
तल्लो तटीय तथा डुबानको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार पानीको बहाव बढेसँगै ब्यारेज आसपास क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरिएको छ ।
विगतको तुलनामा भने पानीको बहाव कमै भएकाले अहिल्यै आत्तिनुपर्ने अवस्था नरहेको अर्यालको भनाइ थियो ।
गत वर्ष कोशीमा ५ लाख क्युसेकसम्म पानी मापन भएको थियो ।
पानीको बहाव अझै बढेको अवस्थामा पूर्वपश्चिम राजमार्गसहित सहायक मार्गमा यातायात सञ्चालन र मानिसहरुको आवागमन रोक्ने तयारी स्थानीय प्रशासनको छ ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले सप्तकोशीमा जलसतह अझै बढ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र र विगतमा डुबान हुने स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
विभागले आगामी केही दिन वर्षाको सम्भावना रहेकाले नदीको बहावमा थप वृद्धि हुन सक्ने जनाएको छ ।




प्रतिक्रिया