कोसी प्रदेशसभाको अधिवेशन बस्दै

कोसी प्रदेशसभाको अधिवेशन बस्दै


काठमाण्डु- कोसी प्रदेशसभाको हिउँदे अधिवेशन सोमवारदेखि सुरु हुँदैछ ।

दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले संसद् अधिवेशन आह्वानसम्बन्धी पठाएको पत्र पढेर सुनाउने तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरूले बोल्ने कार्यक्रम छ ।

प्रदेश सभा बैठकमा गत कात्तिक ४ गते जारी भएको ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ लाई पनि बैठकमा प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कोसी प्रदेशसभाको पाँचौँ अधिवेशन गत असोज ४ गते अन्त्य भएको थियो । कोसी प्रदेश सभाको बैठक १२० दिनपछि माघ ७ गतेदेखि बस्न लागेको हो ।

एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले १० वटाजति संशोधन र नयाँ विधेयक प्रदेशसभामा ल्याउने तयारी रहेकोले प्रदेश सभामा आउने विधेयकलाई सरोकारवालासम्म छलफल गरेर मात्रै पारित गर्नुपर्नेमा आफ्नो दलले भूमिका खेल्ने बताए ।