एमालेमा २ मतभेद जस्तो देखिए पनि समाधान भइसक्यो : महासचिव पोखरेल

एमालेमा २ मतभेद जस्तो देखिए पनि समाधान भइसक्यो : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा २ वटा मतभेद जस्तो देखिए पनि समाधान भइसकेको बताएका छन् ।

एमाले कोशी प्रदेश कमिटीको सातौं पूर्ण बैठकलाई मंगलबार धनकुटाको हिलेमा सम्बोधन गर्दै महासचिव पोखरेलले ७० वर्षको उमेर हद र २ कार्यकालको विषयमा मतभेद जस्तो देखिए पनि त्यो अन्त्य भइसकेको बताए ।

पार्टी सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा टुंग्याइसकेको उनले बताए । ‘यसमा १ जनाको मात्र असहमति छ, कर्ण थापाको मात्रै असहमति छ,’ उनले भने ।

पार्टी विधानमा आफैंले स्थगित गरेको कुरालाई स्थगित नगरे जसरी कार्यकर्ता र जनताको बिचमा लैजान नहुने उनको धारणा छ । आफैंले गरेको काममा टीकाटिप्पणी गर्नु राम्रो नहुने उनले स्पष्ट पारे ।

पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने कुरा एमालेले लोकतन्त्र, पार्टी र स्वयं पूर्वराष्ट्रपतिको हितका लागि सोचविचार गरेर गरेको उनले बताए । बाँकी विषयमा महाधिवेशनमा आधारसहित छलफल गर्न सकिने उनको भनाइ छ ।

पार्टीभित्र विभिन्न खालका अन्तर्घात अहिले पनि कायम रहेको भन्दै उनले पार्टीलाई राष्ट्रिय शक्ति बनाउन यसलाई त्यागेर एकढिक्का भएर अघि बढ्नुपर्ने उनको धारणा छ । ‘पार्टीको आन्तरिक जीवनमा देखिएको आन्तरिक विवादले पार्टी संकटमा परेको छ, पार्टीलाई बालियो बनाउने सिङ्गो पार्टी एकजुट हुनुपर्छ,’ उनले भने ।

कोही आयो भने म असुरक्षित हुन्छु भन्ने कुराबाट मुक्त हुनुपर्नेमा उनले जोड दिए । यो सोच र प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने उनको धारणा छ । ‘भविष्यको योजनाअन्तर्गत पार्टी निर्माण गर्ने योजनामा जानुपर्छ, लक्ष्य समाज बदल्ने हो, माध्यम मात्र चुनाव हो,’ उनले भने ।

पार्टीको समृद्ध नेपाल निर्माण गर्ने योजना भएको बताउँदै उनले एमालेका सबै ५ लाख सदस्यलाई पार्टीले पद दिन नसकिने स्पष्ट पारे । त्यसैले समृद्ध नेपाल निर्माणको लक्ष्य बोकेर पार्टीका नेता–कार्यकर्ता अघि बढ्नुपर्ने उनको धारणा छ ।

समाज बदल्नका लागि हिजो जीवन जोखिममा राखेर हिँडेको स्मरण गराउँदै उनले अहिले पार्टीभित्र अवसरवाद जन्मिएको उनको भनाइ छ । आफूलाई चित्त बुझेन भने सामाजिक सञ्जालमा पार्टी र नेताको विरुद्ध जथाभाबी लेख्ने प्रवृत्ति रोक्न उनले निर्देशन दिए । ‘कुनै पनि सामाजिक परिवर्तनको लागि एकता र अनुशासन अनिवार्य शर्त हो, समाजलाई बदल्ने तागत नेकपा एमालेबाहेक अरूसँग छैन, एमालेका नेता–कार्यकर्ता एक भएर लाग्ने हो भने एमालेको लागि मिसन २०८४ सम्भव छ,’ उनले भने ।

उनले चुनावको बेलामा काम नलाग्ने नेता–कार्यकर्ताको कुनै काम नभएको बताए । पार्टीले बहुमतको सरकार बनाएपछि मात्र पार्टीको नीति लागू गर्न सकिने कुरा नबिर्सिन उनले बताए ।

अहिले देशमा स्थायित्वको लागि नेपाली कांग्रेससँग मिलेको भए पनि आउने चुनाव दुवै पार्टी एक्लाएक्लै लड्ने उनले स्पष्ट पारे । पार्टीको आफ्नो नीति लागू गर्नका लागि एक्लै चुनाव लडेर बहुमतको सकार बनाइ पार्टीको नीति कार्यान्वयनमा लैजाने पोखरेलले बताए ।

उनले पार्टीलाई बलियो बनाउन युवाका बिचमा जानुपर्नेमा जोड दिए । एमाले युवाबाट नै बनेको पार्टी भएकाले यो कुरालाई जगाउन आवश्यक रहेको बताए । यसको लागि युवाको बिचमा काम गर्ने योजना बनाउन आवश्यक रहेको पोखरेलले प्रष्ट पारे ।

त्यसै मंगलबार मतदान केन्द्रमा सबैभन्दा बढी सहभागिता महिलाको हुनेभन्दा उनले महिलाको बिचमा पार्टीको काम गर्नुपर्ने बताए । विदेशमा रहेको युवालाई पार्टीको अवधारण बुझाउन नसक्ने हो भने मत प्रभावित हुन्छ भन्ने कुरा बिर्सिन नहुनेमा उनले जोड दिए ।

पार्टी नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्वलाई जोगाउनु सबैको दायित्व भएको उनले बताए । अहिले एमाले र त्यसको नेतृत्वविरुद्ध आक्रमण भइरहेकाले सिङ्गो पार्टीपंक्तिले एक भएर जोगाउनुपर्ने उनको धारणा छ ।