काठमाण्डु – सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन्।
शनिबार बिहान ८ बजेको मापनअनुसार नदीमा प्रतिसेकेन्ड ३ लाख १३ हजार ३ सय क्युसेक पानीको बहाव रहेको छ ।
सप्तकोशीमा प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेकभन्दा बढी पानीको बहावलाई जोखिमपूर्ण मानिन्छ। पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती पनि बालिएको छ। पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले नदीको बहाव अझ बढ्न सक्ने भन्दै प्रहरीले सप्तकोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
सप्तकोशीमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति भने खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। दुई लाख कटने बित्तिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बालिने गरिन्छ। पानीको बहाव तीन लाख काट्नासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाअन्तर्गत नदी आसपासका क्षेत्रमा प्रहरीको उद्धार टोली परिचालन गरिएको छ ।
लगातारको वर्षाका कारण सप्तकोशीको जलसतह थप बढ्न सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन प्रहरीले आग्रह गरेको छ। कोशी ब्यारेज हुँदै पूर्व–पश्चिम आवतजावत गर्ने सवारीसाधनमा समेत सुरक्षा सतर्कता बढाइएको छ।
कोशीमा पानीको बहाव बढी रहँदा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्व टोलीले शुक्रबार साँझ अनुगमन गरेका थिए। कार्कीले आवश्यक सतर्कता अपनाउन प्रहरीप्रशासनलाई निर्देशन दिएका थिए।
कोशी ब्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ। तर, ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिँदा खतरा हुने गर्छ।
२०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यति बेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोशी गाउँपालिकाका चारवटा मानव बस्तीमा पसेको थियो।




प्रतिक्रिया