कोटेश्वरका टिकट काउन्टरलाई व्यवस्थित गर्न प्रहरीले थाल्यो पहल

कोटेश्वरका टिकट काउन्टरलाई व्यवस्थित गर्न प्रहरीले थाल्यो पहल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – महानगरीय प्रहरी प्रभाग कोटेश्वरले कोटेश्वरका टिकट काउन्टरहरुलाई व्यवस्थित गर्ने विषयमा छलफल शुरु गरेको छ । लामो दुरीका हायस, टाटा सुमो, माइक्रो लगायतका टिकट काउण्टरका कर्मचारी, टिकट विक्रेता या दलालका कारण यात्रुहरुलाई अप्ठेरो पर्ने गरेको गुनासो बढ्न थालेपछि टिकट काउन्टरहरुलाई व्यवस्थित गर्ने विषयमा छलफल शुरु गरेको हो ।

प्रभागले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर, सामुदायीक प्रहरी सेवा केन्द्र ३२ र यातायात टिकट काउण्टर व्यवस्थापन सम्पर्क समिति कोटेश्वरको संयुक्त आयोजनामा शुक्रबार कोटेश्वरमा सरोकारवाला टिकट काउण्टर सञ्चालक, यातायात व्यवसायी र यातायात मजदूरहरुलाई सहभागी गराई छलफल गरेको छ ।

टिकट काउण्टर सञ्चालक या मजदूरहरु एकै किसीमको पोशाक र परिचयपत्र सहित मर्यादित, सभ्य र अनुशासित हुनुपर्नेमा प्रहरी अधिकृत र यातायात व्यवसायी संघका पदाधिकारीहरुले जोड दिएका छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख, प्रहरी निरीक्षक सुभद्रा वाइवा लामाले पछिल्लो समयमा टिकट काउण्टरले राखेका मजदूर र टिकट विक्रेताबाट अधिकांश यात्रुहरु ठगिने गरेका, नक्कली टिकट विक्री गर्ने पाईएको र त्यस्ता काउण्टरबाट सञ्चालित गाडीचालकहरुले यात्रुहरुलाई गन्तव्यमा नभई विचैमा छोड्ने गरेको गुनासो बढ्न थालेपछि टिकट काउण्टर, यसका सञ्चालक र काउण्टरका मजदूरहरुलाई जिम्मेवारपूर्ण बनाउन छलफल कार्यक्रमको आयोजना गरिएको बताएकी छन् ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले टिकट काउण्टरमा काम गर्ने कर्मचारीहरुको एकै किसीमको पोशाक लगाएर परिचयपत्र बोक्नु उनीहरुको दायीत्व र कर्तव्यमात्रै नभई यसले उनीहरुलाई अनुशासित रुपमा काम गर्न सघाउने बताए ।

त्यस अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकाल, महानगरीय प्रहरी परिसर काठमाडौंका समुदाय—प्रहरी साझेदारी कार्यक्रमका प्रमुख, प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल, लगायतको उपस्थित रहेको थियो ।