काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै भगवान् रामको जन्म भएको दाबी गर्दै सत्य तथ्य बोल्न डराउन नहुने बताएका छन्।
नेकपा (एमाले) केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटनको अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उनले राम जन्मस्थलको विषयमा स्पष्ट धारणा राखेका हुन् ।
“हामी आफैँले आफ्नो इतिहास र संस्कृति बोल्न सक्दैनौं भने अरू कसले गर्छ ? ” प्रधानमन्त्रीले प्रश्न गरे। “राम नेपालमै जन्मिएका हुन्। त्यो भूभाग अहिले नेपालको सीमाभित्र पर्छ।”
प्रधानमन्त्री ओलीले धार्मिक र सांस्कृतिक सम्पदाको प्रचारप्रसार गर्न सरकार गम्भीर रहेको बताए। “राम भगवान हुन् कि होइनन् भन्ने आस्था को कुरा हो, तर जसले भगवान मान्छ, उनको जन्मभूमि पवित्र हुन्छ,” उनले भने, “त्यो पवित्र स्थल नेपालमै पर्छ भनेर भन्न पनि सक्दैनौं भने हामी किन लाज मान्ने ? ”
उनले वाल्मीकि कृत रामायण को उदाहरण दिँदै राम र लक्ष्मणलाई विश्वामित्रले शिक्षा दिएको भू–भाग नेपालमै पर्ने उल्लेख गरे। “मैले लेखेको होइन नि रामायण,” उनले व्यङ्ग्य गरे, “कोशी तरेर गएका थिए उनीहरू। कोशीको किनारमै बस्ने भएकाले उनको नाम कौशिक भएको हो।”
प्रधानमन्त्रीले शिव, विश्वामित्र र कौशिक ऋषि नेपालकै भएको पनि दाबी गरे।
गोष्ठीमा उनले धार्मिक र ऐतिहासिक पर्यटकीय स्थलहरूको विकास र प्रवर्द्धनमार्फत नेपालको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्याउने योजना रहेको बताए।




प्रतिक्रिया