काठमाण्डु– टुँडिखेलमा ७५औं प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा प्रजातन्त्र दिवस मनाइएको हो ।
प्रजातन्त्र दिवसको सम्बोदन गर्दै प्रधानमन्त्री केपी ओलीले आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन भएको बताएका छन् ।
उनले जहानीयाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनाएको तर प्रजातन्त्रपछि जनताका लागि सडक, पुल, कुलो, बिजुली व्यापार केन्द्र र विद्यालय बनाएको स्मरण गराए ।
उनले नागरिकको जीवन बदल्न प्रजातन्त्रमा बनेका संरचनाको राणाले सन्तानका लागि बनाएका संरचनासँग तुलना हुननसक्ने भन्दै विवेकको तराजुमा राखेर तौलिनुपर्ने बताए ।
यस्तो छ सम्बोधनको पूर्णपाठ
गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सर्वप्रथम म, सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
जहानियाँ राणा तन्त्रको बर्बरता बिरुद्ध आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठसहित सम्पूर्ण अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।
नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा केही दिनहरु विशेष छन्– चैत २६, वैशाख ११, जेठ १५, र असोज तीन । निर्दलीयताको समाप्ती, लोकतन्त्र, गणतन्त्र र संघीयता सहितको संविधान प्राप्तिमा यी दिनको विशेष महत्व छ । प्रत्येक दिनले एकपछि अर्को गर्दै जनतालाई सार्वभौम बनाएका छन्, थप अधिकार दिलाएका छन् ।
–तर ती सबै दिन भन्दा युगान्तगारी महत्व फागुन ७ गतेले राख्छ
२००७ साल फागुन ७ गते १ नेपालको इतिहासमा यस्तो सन्धिकाल हो, जसले हाम्रा पुर्खालाई हुकुमी शासनको क्रूर जन्जिरले बाँधिएको घना रातबाट स्वयंको विवेकले चल्ने स्वतन्त्रताको न्यानो विहानीमा पुर्याएको यातनादायी, कहालीलाग्दो तर साहसिक लामो यात्राको स्मरण गराउँछ ।
–फागुन ७ गतेले हाम्रो, खेर गएको सिङ्गो शताव्दीको स्मरण गराउँछ ।
विज्ञान–प्रविधिमा संसारले फड्को मारिरहँदा नेपालमा भने जहानियाँ शासकको एउटा सनकी आदेशले अन्वेषणमा लाग्ने प्रतिभाको हात काटिएको घटनाको स्मरण गराउँछ । सत्यरतथ्य बोल्नेको जिब्रो थुतेर पातमा राखिएको, आँखा फोरिएको र नव प्रवर्तनमा लाग्नेहरुको जात काडिएको जस्ता पिडादायी घटनाहरुको याद गराउँछ ।
आजको दिनले, शासकका पटाङ्गिनीमा बज्ने बिगुलको इसारामा मात्र घरबाहिर निस्कन र भित्र छिर्न पाइने निरङ्कुश परम्परा सम्झाउँछ । आफ्नै नागरिकले राजधानी काठमाडौं छिर्न समेत ‘भिसा’ लिनु पर्ने र तानाशाही शासकका वैधरअवैध सन्तानका लागि भव्य महल ठड्याउन सयौं नागरिकलाई रैतान भन्दै झाराको उर्दी लगाएर जवरजस्ती श्रम शोषण गर्नेको इतिहास सम्झाउँछ ।
हाम्रो इतिहासको पुरानो कालखण्डमा दौड प्रतिस्पर्धाबाट राजा छान्ने युग थियो । तर, दौडमा समेत झेल गरी शासन हत्याउने र शासनाधिकार आफ्नै बंशमा राख्ने षडयन्त्रकारीहरुको कुरुप अनुहारलाई पनि यस दिनले सम्झना गराउँछ ।
यसरी फागुन ७ गतेले शासनको स्वरुप मात्रै फेरेको होइन, हुकुमी निगाहबाट हुने पजनी फेरेर निजामती प्रशासनको जग हाल्यो । योजनावद्ध विकासको थालनी गर्यो । सार्वभौम समानताको आधारमा मित्रराष्ट्रहरुसँग कुटनैतिक सम्बन्धको शुरुवात गर्यो ।
–समग्रमा फागुन ७ ले मुलुकलाई सबै हिसावले स्वतन्त्र र सार्वभौम बनाउने दृढ संघर्र्ष अघि बढायो
यसरी हामी फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउँछौं । शहीदहरुको महान त्यागलाई सम्झन्छौं । नयाँ पुस्तालाई, उनीहरुको उज्ज्वल भविष्यको लागि, पुर्खाले भोगेको हण्डर, ठक्कर तथा बलिदान र समर्पणको महान–गाथा स्मरण गराउँछौं ।
प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधि मार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता– अनुभव होइन, कथा मात्र हो !
तसर्थ, हाम्रो भविष्यका रुपमा उदाउँदै गरेको भोलिको पुस्ताले यो दिन, बिर्सनै नमिल्ने दिन हो !
पुस्तान्तरको समयचापले कहिलेकाहीँ न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रीको क्रूरतम् स्मृतिलाई गुमाउन पुग्छ र भन्छ– ‘प्रजातन्त्रले के गरेको छ ? ! त्यसले त अझै राणाकालका दरवारहरुबाट निर्वाह गरिरहेको छ !’
– जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरवार बनायो
प्रजातन्त्रले जनताका लागि सडक, पुल, कुलो, बिजुली, व्यवसायिक व्यापार केन्द्र, अस्पताल र विद्यालय बनायो । निरंकुश शासनले आफ्नो अभिजातीय विलासका लागि बनाएका संरचना र लोकतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन बनाएका संरचनाको तुलना वस्तुगत र तथ्यगत हुन सक्छ र ? !
–यसलाई आजको पुस्ताले असान्दर्भिक तुलनाबाट होइन, विवेकको तराजुमा राखेर तौलनु पर्दछ
निरंकुश शासनको कहालीलाग्दो रात पार गरी लोकतान्त्रिक अधिकार उपभोग गरिरहेको हाम्रो समाजले पूर्वाधार विकासमा तुलनात्मक फाड्को मारेको छ । सामाजिक सुरक्षाका प्रवन्धहरु विस्तार भएका छन् । सामाजिक न्यायमा प्रगति गरेको छ । समाज, हुकुमी जन्जिरले बाँधिएको अवस्थाबाट सूचना–प्रविधिको सञ्जालमा जोडिएको छ । यसको प्रयोग मार्फत् आफूलाई निर्वाध अभिव्यक्त गर्ने स्वतन्त्रताको राजमार्गमा पुगेको छ ।
स्वतन्त्रताको यही राजमार्गमा यात्रारत यी यात्रीहरुको विवेकले हुकुमी जन्जिरको औचित्य सावित गर्न सक्दैन भन्नेमा म विश्वस्त छु । १०४ वर्ष लामो निरंकुश जहानियाँ तन्त्रको अन्त्य पछिको ७५ बर्षमा अनेक आरोहरअवरोह बीच छरिएको लोकतन्त्रको उज्यालोमा नै हामीले मुलुकलाई विपन्नबाट सम्पन्नतातिर, विकासोन्मुखबाट विकसित राष्ट्रतिर र असमानताबाट समानतातिर लैजान थालेका हौं ।
–राष्ट्रको समृद्धि प्रत्यक्षतः जनताको सुख, सन्तुष्टि र खुशीसँग जोडिएको हुन्छ
सम्पन्नताको यात्रा अनवरत चलिरहन्छ । ‘राष्ट्रको समृद्धि र जनताको सुख’लाई मैले ‘परिपूर्ण लोकतन्त्र’ भन्ने गरेको छु । चलन चल्तीमा भनिने प्रजातन्त्रले ‘संगठन र अभिव्यक्तिको स्वतन्त्रता’को मात्र वकालत गर्यो । परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गर्छ । समृद्धि भनेको समग्र विकास हो, सुख भनेको व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति हो ।
हामी त्यसतर्फ इमान्दारीपूर्वक हिंडिरहेका छौं । बढ्दो जनआकांक्षा र चुनौतीहरूबीच, राज्यको संस्थागत र सामथ्र्यवीच लय मिलाएर संगतिपूर्ण ढङ्गले अगाडि बढिरहेका छौं ।




प्रतिक्रिया