एमाले सांसदलाई प्रधानमन्त्री ओलीको निर्देशन : संसद्मा गलत बोल्नेको तत्काल प्रतिवाद गर्नू

एमाले सांसदलाई प्रधानमन्त्री ओलीको निर्देशन : संसद्मा गलत बोल्नेको तत्काल प्रतिवाद गर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सही छ भनी ढुक्कसँग भन्न एमाले सांसदहरूलाई निर्देशन दिएका छन् ।

शनिबार बालुवाटारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीको काम नै विरोध गर्ने भएको बताए ।

सत्य भए पनि विरोध गर्ने, असत्य पनि विरोध गर्ने काम विपक्षीहरूको दाबी गर्दै उनले नीति तथा कार्यक्रमको एउटा पनि बुँदालाई विपक्षीले राम्रो नभनेको बताए ।

‘केही गलत कुरा बोल्यो कि रेकर्डबाट हटाउने माग गर्न थालिहाल्छन्, त्यो गलत हो, गलत बोलेको कुरा पनि रेकर्डमा रहनुपर्छ । किनभने पछिको पुस्ताले पनि थाहा पाओस् कि हाम्रा पूर्खाले के बोलेको थिए,’ उनले भने । प्रधानमन्त्री ओलीले संसद्मा आफ्नो कुरा अध्ययन गरेर प्रस्ट रूपमा राख्न समेत सांसदहरूलाई आग्रह गरे ।

एमालेको संसदीय दल आकारको हिसाबले मात्र ठूलो होइन, विचार र मुद्दाको हिसाबले समेत ठूलो रहेको बताउँदै उनले संसद्मा बोल्नका लागि बुँदाहरू लेखेर जान आग्रह गरे । ‘बुँदा लिएर गएमा कुनै कुरा छुट्दैन, ती बुँदालाई मज्जाले व्याख्या गर्न सजिलो हुन्छ,’ उनले भने, ‘संसद्मा तत्काल उठ्ने गलत कुरालाई प्रतिवाद गर्न पनि तयारीका साथ बोल्नुपर्छ ।’

सरकारको नीति तथा कार्यक्रम संसद्मा पेश भइसकेपछि त्यसमाथि हुने छलफलको तयारीबारे एमाले संसदीय दलले छलफल गरेको छ ।