काठमाण्डु – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश देशलाई बिगार्न नदिन र विना व्यवधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेलाई बहुमतको सरकारका चाहिने बताए ।
‘मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिलो गर्यौं । अब त्यो भ्रममा रहनु हुँदैन । साना–साना स्वार्थ लिएकाहरूले हामीविरुद्ध भ्रम फिँजाएका छन् । त्यस्तो भ्रममा पर्नु हुँदैन । एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाहरूले साथ दिनुपर्छ,’ अध्यक्ष ओलीले भने, ‘म युवाहरूलाई एमालेमा आउनुस्, एकैपटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उल्काउन चाहन्नँ । आउनुस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ । मेसी, एम्बापे पनि एकैदिन बनेका होइनन् । रहर लागेर तुरुन्तै डाक्टर, इञ्जिनीयर हुँदैनन् । मेहनत र समय आवश्यक हुन्छ । यो वास्तविकता तपाईंहरूले बुझ्नुपर्छ ।’
कार्यक्रममा युवा चिकित्सक, इन्जिनीयरसहित करीब १०० जना एमालेमा प्रवेश गरेका थिए भने स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका युवा व्यवसायीलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया