सानातिना मतभेदमा नअल्मलिएर एकताबद्ध हुन एमाले अध्यक्ष ओलीको निर्देशन

सानातिना मतभेदमा नअल्मलिएर एकताबद्ध हुन एमाले अध्यक्ष ओलीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढ्न नेतृत्वलाई निर्देशन दिएका छन् ।

सोमबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टीविरुद्ध भइरहेको आक्रमणको प्रतिवाद गर्न निर्देशन दिए ।

बैठकको बिचमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा छलफल भएका मुख्य बुँदाहरू सार्वजनिक गरेका छन् ।

गौतमका अनुसार पार्टी अध्यक्षले हाल नेपाली राजनीतिमा भइरहेका घटनाक्रम, एमालेप्रति भइरहेका आक्रमण र त्यसका प्रतिकारमा पार्टीले लिनुपर्ने रणनीति स्पष्ट रूपमा प्रस्तुत गरेका छन् । उनले भने, ‘पार्टी अध्यक्षले कसरी एमालेमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको छ र त्यसको सामना कसरी गर्ने भन्नेबारे बैठकमा स्पष्ट धारणा राख्नुभयो ।’

अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण संरचनालाई सुदृढ बनाउँदै वैचारिक स्पष्टताका साथ अघि बढ्न निर्देशन दिए । ‘पार्टीमा अहिले कुनै वैचारिक मतभेद छैन, सानातिना मतभेदमा नअल्मलिन र सबैलाई एकताबद्ध भएर अघि बढ्न अध्यक्षले निर्देशन दिनुभएको छ,’ गौतमले भने ।

एमालेको सदस्यता अभियान सन्दर्भमा गौतमले बताएअनुसार हालसम्म देशभर १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्, जुन कुल सदस्यताको करीब २८ प्रतिशत वृद्धि हो । ‘पार्टी थप मजबुत र क्रियाशील भएर अघि बढेको देखिएको छ,’ उनले भने ।

बैठकमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा २ कार्यकाल सीमाको विषयमा पनि विचार राखिएको गौतमले जानकारी दिए । ‘जसले जे धारणा राखे पनि निर्णय प्रक्रियामा एकमत देखियो,’ उनले भने ।

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग हालै भएको छलफलको सन्दर्भ पनि आएको थियो । पार्टी कार्यालयमा नै भएको छलफल सौहार्दपूर्ण भएको र पूर्वराष्ट्रपति राजनीति फर्किने कि नफर्किने भन्नेबारे पार्टी अध्यक्षले स्पष्ट धारणा राखेको गौतमले जानकारी दिए । सदस्यताको विषय छलफलबाट टुंगिने उनले बताए ।

अध्यक्ष ओलीले नेताहरूलाई अफवाह फैलाउने कार्य नगर्न र पार्टी सुदृढ बनाउन सबै लाग्नुपर्ने धारणा राखेका छन् ।

सोमबारको बैठकमा पार्टी महासचिव शंकर पोखरेलले देशभरको सांगठनिक अवस्था र अभियानहरूको प्रगति विवरण प्रस्तुत गर्ने उनले जानकारी दिए । गौतमका अनुसार सोमबार र मंगलबार लगातार बैठक चल्नेछ ।

एमालेले आगामी भदौ २०–२२ गते काठमाण्डुको गोदावरीमा विधान महाधिवेशन गर्ने तयारी गरिरहेको छ । बैठकलाई विधान संशोधन, सांगठनिक स्पष्टता, सदस्यता अभिवृद्धि र राजनीतिक रणनीति निर्माणको दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ ।