काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाममा अनावश्यक बयानबाजी गर्नेलाई कारवाही हुने धम्की दिएका छन् ।
च्यासलमा सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीको प्रवक्ता नबन्न नेता–कार्यकर्तालाई चेतावनी दिए ।
उनले बैठकमा भने, ‘मैले विद्याजीलाई हिजो भेटें, बालुवाटार बोलाएको, पार्टी कार्यालय देखेको छैन भन्नुभयो, कोही उहाँको प्रवक्ता बन्नुभएको छ, किन पर्यो त्यो ? मैले सुझाव दिएको छु, उहाँले के गर्नुहुन्छ भनिसक्नुभएको छैन ।’
पूर्वराष्ट्रपति भण्डारीले सोचेर पछि जानकारी दिने बताएको अध्यक्ष ओलीले जानकारी दिए । ‘राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्ट रूपमा राखिएको छ । उहाँले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताउनुभएको छ । उहाँको धारणा आएपछि आवश्यकताअनुसार पार्टीले थप निर्णय गर्नेछ,’ उनले भने, ‘उहाँ पार्टी कार्यालय आउँदा केही असन्तुष्ट र आफैं चुनाव गराएर हारेका केही समूहहरू पनि देखिए, जो पशुपतिमा समेत देखिएका थिए । उमेरको हद तोक्ने हो भने जेल बसेको उमेर घटाउन पर्छ भनेर अध्यक्ष भने प्रचार गर्ने, भण्डारीले बालुवाटार जान मानिनन् भनेर गलत प्रचार गर्नु पनि बेठीक हो । उहाँको प्रवक्ता बनेर कतिपय नेताले मिडियामा अनावश्यक बयानबाजी गर्नु जरूरी छैन । हिजोको बैठकलाई ‘कट अफ’ बैठकको रूपमा लिनुपर्छ । अब यस्ता अनुशासनहीन गतिविधि दोहोरिए कारबाही अवश्य हुनेछ ।’




प्रतिक्रिया