काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अतिकम विकसित राष्ट्र (एलडिसी) बाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि अघि बढेको बताउँदै यो उपलब्धिले अन्तरराष्ट्रिय स्तरमा मुलुकको छवि उँचो बनाएको टिप्पणी गरेका छन्।
राष्ट्रियसभामा ‘एलडिसी ग्रयाजुएसन सम्बन्धी अध्ययन प्रतिवेदन २०८१’ माथिको छलफलमा सांसदहरूको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्तरोन्नतिपछि नेपालको ‘कन्ट्री रेटिङ’ सुदृढ भई लगानीमैत्री वातावरण बन्ने विश्वास व्यक्त गरे। उनले “सगरमाथा संवाद” र “लगानी सम्मेलन” जस्ता अन्तरराष्ट्रिय कार्यक्रममार्फत आर्थिक कूटनीतिमा जोड दिइएको उल्लेख गरे ।
नेपाल सन् १९७१ मा संयुक्त राष्ट्रसंघको एलडिसी सूचीमा सूचीकृत भएको थियो। झण्डै ५५ वर्षपछि अब नेपालले आगामी मङ्सिरमा अन्य सात देशसँगै स्तरोन्नति पाउनेछ।
प्रधानमन्त्रीले आर्थिक सूचकांकहरूमा सुधार देखिएको र चालु १६औं योजनाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य कार्यान्वयनमा टेवा पुर्याएको दाबी गरे। तथापि, एलडिसीको हैसियतमा पाइँदै आएको सुविधा केही हदसम्म घट्न सक्ने र जलवायु तथा प्राकृतिक प्रकोपका असरले चुनौती थप्न सक्ने भन्दै तयारी आवश्यक रहेको बताए।
उनले भने “अहिले आर्थिक सुधारका राम्रा लक्षण देखा पर्नथालेका छन् । चालु सोह्रौँ योजनाको सामाजिक न्याय, सुशासन र समृद्धिका दूरदृष्टि, लक्ष्य र उद्देश्यहरु ‘एलडिसी’ स्तरोन्नतिपछिको अवस्थालाई आधार मानी तयार गरिएको छ”, प्रधानमन्त्री ओलीले भने, “स्तरोन्नति हुँदा नेपालले अतिकम विकसित राष्ट्रको हैसियतले विविध क्षेत्रमा प्राप्त गर्ने सुविधाहरुमा केही कटौती हुने स्थिति छ । नेपालमा पर्ने जलवायु परिवर्तनको असर र प्राकृतिक प्रकोपको प्रतिकूलताले नेपालको प्रगतिमा बाधा उत्पन्न हुनसक्छ । यही परिस्थितिको आँकलन गरेर गत वर्षदेखि नै सम्बद्ध निकायमार्फत अन्तरराष्ट्रिय कूटनीतिक पहल भइरहेको छ । हामी चुनावका बेला प्रतिस्पर्धा गरौँ, अरु बेला विकासका लागि साझा प्रयास गरौँ । उत्पादन र उत्पादकत्व बढाऔँ ।”
उनले पूर्वाधार र कनेक्टिभिटी विस्तारमार्फत नेपाललाई ‘ल्याण्ड लक्ड’ बाट ‘ल्याण्ड लिङ्क्ड’ राष्ट्रमा रूपान्तरण गर्ने, वैदेशिक लगानी र मूल्य शृङ्खला विस्तारमा जोड दिने तथा कानुनी संरचना सुधार गरिने जानकारी दिए।
प्रधानमन्त्री ओलीले विश्व अर्थतन्त्र मन्दीमा गए पनि नेपालको अर्थतन्त्रले सकारात्मक गति लिन थालेको दाबी गर्दै, एलडिसीबाट स्तरोन्नतिका सबै मापदण्ड नेपालले पूरा गरिसकेको स्पष्ट पारे।
उनले आगामी साउन १८ गते तुर्कमिनिस्तानमा हुने भू(परिवेष्ठित तथा विकासशील मुलुकहरूको तेस्रो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिने जानकारी पनि दिए।
यसैबीच, राष्ट्रियसभाको बैठकमा सभापति कमला पन्तले एलडिसी स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन पेश गरेका थिए। छलफलमा सांसदहरूले विकासशील राष्ट्रमा पुग्दा छुट्ने सहुलियतहरूप्रति चिन्ता व्यक्त गर्दै त्यसको सामना गर्न ठोस रणनीति अपनाउन सरकारलाई सुझाव दिएका थिए।




प्रतिक्रिया