विद्याजीले अध्यक्षमा उठेपनि जित्नुहुन्न, अनि भीम रावललाई झैँ कारबाही गर्नुपर्ने हुन्छ :ओली

विद्याजीले अध्यक्षमा उठेपनि जित्नुहुन्न, अनि भीम रावललाई झैँ कारबाही गर्नुपर्ने हुन्छ :ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीले पार्टीमा आएर अध्यक्ष बन्ने प्रयास गर्दा सफल नहुने दाबी गरेका छन्।

बुधबार काठमाण्डु जिल्लाका महाधिवेशन प्रतिनिधिसँगको अनौपचारिक छलफलमा बोल्दै उनले भण्डारीले अध्यक्षमा उठेपनि नजित्ने बताएका हुन् ।

उनले भने ‘उहाँले पार्टीमा आएर अध्यक्ष उठेमा जित्नुहुन्न। नेतृत्व केवल आँखामा नबिझ्ने लालगेडी होइन, नेतृत्व क्षमता चाहिन्छ र परिस्थिति अनुसार डटेर सामना गर्नुपर्छ। उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ। हारेपछि पार्टीको विरोधमा लाग्नुहुन्छ। त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारबाही जानुपर्ने अवस्था आउँछ।’

पूर्वराष्ट्रपति भण्डारीलाई अपमानजनक स्थितिमा नपार्न र सम्मानजनक हैसियत कायम राख्न ओलीले उनलाई राजनीतिमा नआउन सुझाव दिएका थिए।

उनले भने ‘उहाँलाई अहिले नै सम्मानजनक हैसियत छ, त्यसैले मसँगको भेटमा पनि मैले आग्रह गरेको थिएँ कि पार्टीमा समस्या खडा गर्नेगरी राजनीतिमा नआउन। तर उहाँले सदस्यता खोस्नु, पार्टी नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोप दिन थाल्नुभएको छ। उहाँका निकट साथीहरूले पनि यसो नगर्न सम्झाउनुपर्छ।’

सक्रिय राजनीतिमा आउन भण्डारीले गरेका गतिविधिले पार्टी एकतामा सहयोग नपुग्ने निष्कर्ष निकाल्दै केन्द्रीय कमिटीले सदस्यता नदिने निर्णय गरेको समेत जिकिर गरेका छन्।