काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि गर्न लागेको चीन भ्रमण अनौपचारिक हुने भएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सांघाइ सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन शनिबार त्यसतर्फ जाँदैछन् । सम्मेलन चीनको तियानमिन सहरमा भदौ १४ देखि १८ गतेसम्म हुँदैछ ।
विश्वकै ठूलो क्षेत्रीय सुरक्षा तथा आर्थिक संगठनमध्ये एक मानिने यो संगठनको शिखर सम्मेलनमा नेपालबाट प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय सहभागिता हुन लागेको हो ।
नेपालले प्रधानमन्त्री ओलीको यसपटकको चीन भ्रमणलाई ‘औपचारिक’ बनाउन चाहेको थियो र त्यसका लागि पहल पनि गरेको थियो । परराष्ट्र मन्त्रालयले भ्रमणलाई ‘औपचारिक’ स्वरूप दिन काठमाण्डुस्थित चिनियाँ दूतावासलाई आग्रह पनि गरेको थियो । तर नेपालको प्रस्ताव दूतावासले अस्वीकार गरेको हो ।
मन्त्रालयका एक अधिकारीकाअनुसार प्रधानमन्त्री ओलीको शनिबारदेखि हुने चीन भ्रमणलाई ‘औपचारिक’ बनाउन गरेको आग्रह चिनियाँ दूतावासले अस्वीकार गरेको हो । प्रधानमन्त्रीकै चाहनामा भ्रमणलाई ‘औपचारिक’ बनाउन परराष्ट्रले पहल गरेको पनि ती अधिकारीले बताए ।
तर परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्रीको चीन भ्रमण अनौपचारिक नै हुने बताए । उनले भने ‘प्रधानमन्त्री एससीओ सम्मेलनमा भाग लिन जाँदैहुनुहुन्छ । अन्य देशका सरकार र राष्ट्र प्रमुख पनि आउँदै हुनुहुन्छ । यसलाई औपचारिक भने पनि हुन्छ ।’
तर प्रवक्ता पौडलले भ्रमणलाई ‘औपचारिक’ दिन परराष्ट्रले चिनियाँ दूतावासलाई गरेको आग्रहको विषयमा अनभिज्ञता जनाए । ‘यस विषयमा मलाई जानकारी भएन, बुझ्नुपर्छ’ उनले काठमाण्डुपाटीसँग भने ।
भ्रमणका क्रममा प्रधामनन्त्रीले चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगै सम्मेलनमा सहभागी हुने अन्य देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग पनि दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्रले जनाएको छ । यस्तै भियतनाम, माल्दिभ्स, लाओस, क्याम्बोडियाका सरकार प्रमुखसँग पनि भेटवार्ता गर्ने तय भएको छ ।
प्रधानमन्त्रीले भदौ १६ गते शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । यसका साथै प्रधानमन्त्री ओलीले एससीओ शिखर सम्मेलनका अतिरिक्त चीनको जनयुद्धमार्फत जापानी आक्रमण विरुद्धको प्रतिरोध र विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवमा पनि सहभागिता जनाउने छन् ।
यसअघि प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा गत मंसिर १७ देखि २० गतेसम्म औपचारिक भ्रमण गरेका थिए ।




प्रतिक्रिया