प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाँदैछन् ।

चिनिया राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) को २५ औँ शिखर सम्मेलन र जापानी उपनिवेशविरुद्ध चीनले विजयी प्राप्त गरेको र विश्व फासिस्ट विरोधी दिवसको ८० औँ वार्षिकोत्सवमा भाग लिन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियान्जिन प्रस्थान गर्दैछन्।

प्रतिनिधिमण्डलमा प्रथम महिला राधिका शाक्य, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाली कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खडका, नेकपा (एमाले) का सचिव तथा सांसद छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका अधिकारी रहनेछन्।

चिनिया राष्ट्रपति सीले उदघाटन गर्ने शिखर सम्मेलनमा एससीओका दश पूर्ण राष्ट्रसहित २० देशका राष्ट्र प्रमुख र सरकार प्रमुख तथा दशवटा अन्तर्राष्ट्रिय संस्थाको प्रमुखको सहभागिता निश्चित रहने भएको छ।

भदौ १४ देखि १५ गतेसम्म तियान्जिनमा हुने सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादमिर पुटिन, बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्को, इरानका राष्ट्रपति मसुद पेजेस्कियान, पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ, कम्बोडियाका प्रधानमन्त्री हुन मनेत, टर्कीका राष्ट्रपति रेसिप तैयिप एर्दोगान, माल्दिप्सका राष्ट्रपति मोहम्मद मुइज्जु लगायतको उपस्थित हुने छन् ।

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति चिनफिङबिच शनिबार नै द्धिपक्षीय भेटवार्ता हुनेछ। प्रधानमन्त्री ओलीले भदौ १६ गते सम्मेलनमा अतिथिको रूपमा सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री ओली भदौ १८ गते बेइजिङ्गस्थित तियानमिन स्क्वायरमा हुने जापानी उपनिवेशविरुद्ध चीनले विजयी प्राप्त गरेको र विश्व फासिस्ट विरोधी दिवसको ८० औँ वार्षिकोत्सवमा हुने स्मृति समारोह तथा सैनिक परेडमा सहभागी हुनेछन्।

समारोहमा २६ देशका राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी हुँदैछन्।