प्रधानमन्त्री ओली राष्ट्रसंघीय महासभामा भाग लिने, मोदी नजाने

प्रधानमन्त्री ओली राष्ट्रसंघीय महासभामा भाग लिने, मोदी नजाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ८०औँ महासभामा सहभागी हुने भएका छन् ।

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ५ गते (सेप्टेम्बर २१) मा अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नेछन् । परराष्ट्र मन्त्रालय र न्यूयोर्कस्थित नेपालको स्थायी मिशनले प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणका लागि तयारी थालेका छन् ।

राष्ट्रसंघीय महासभा सेप्टेम्बर ९ मा सुरु हुने छ । तर उच्चस्तरीय साधारणसभा सेप्टेम्बर २३ देखि नै सुरु हुनेछ । सेप्टेम्बर २२ मा राष्ट्रसंघको ८०औँ वार्षिकोत्सव मनाउन उच्चस्तरीय बैठक आयोजना हुनेछ । यो बैठकमा सदस्य राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरूले विगत आठ दशकका उपलब्धिहरूका विषयमा समीक्षा गर्ने र समावेशी तथा उत्तरदायी बहुपक्षीय प्रणालीको भविष्यबारे छलफल गर्नेछन् । प्रधानमन्त्री ओली उक्त कार्यक्रममा सहभागी हुनेछन् ।

ओलीले सेप्टेम्बर २३ मा हुने ८०औँ साधारण बहसको उद्घाटन सत्रमा पनि उपस्थित रहनेछन् । त्यसपछि सेप्टेम्बर २४ मा तय गरिएको जलवायु शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

त्यसै दिन प्रधानमन्त्री ओलीले दिगो, समावेशी र लचिलो विश्व अर्थतन्त्रका लागि पहिलो द्विवार्षिक शिखर सम्मेलनमा पनि भाग लिनेछन् ।

यस्तै सेप्टेम्बर २५ मा आयोजना हुने गैरसंक्रामक रोगहरूको रोकथाम तथा नियन्त्रण र मानसिक स्वास्थ्य प्रवद्र्धनसम्बन्धी उच्चस्तरीय बैठकमा पनि प्रधानमन्त्रीको सहभागिता रहने छ । सोही दिन हुने विश्व युवा कार्यक्रमको ३०औँ वार्षिकोत्सवमा आयोजित उच्चस्तरीय बैठकमा पनि उनले सहभागी जनाउने छन् ।

प्रधानमन्त्री ओलीले असोज १० गते (सेप्टेम्बर २६) महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा ओलीले केही सरकार या राष्ट्र प्रमुखहरूसँग पनि भेट्ने कार्यक्रम छ । त्यसका लागि परराष्ट्र मन्त्रालयले पहल गरिरहेको छ । तर कुनकुन सरकार या राष्ट्र प्रमुखसँग भेट्ने अहिले तय भइसकेको छैन ।

प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री आरजु राणा जाने सम्भावना नरहेको मन्त्रालय स्रोतले जनाएको छ । यस वर्ष परम्परागत रूपमा हुने सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक महासभाको क्रममा हुने सम्भावना पनि नरहेको परराष्ट्रका अधिकारीहरू बताउँछन् ।

भारत–पाकिस्तानबीच हालै भएको युद्धले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को भविष्यलाई झन् अनिश्चित बनाएको छ ।

प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणअघि भारत जाने कार्यक्रम छ । भारतबाट निम्तो आएपनि औपचारिक मिति तय भएको छैन । प्रधानमन्त्री ओली भदौ ३१ गते दुई दिने भारत भ्रमणमा जाने अनौपचारिक मिति तय भएको छ । यद्यपी प्रधानमन्त्री भारत भ्रमण जाने समय ९ दिन बाँकी रहँदा औपचारिक रूपमा मिति तय भएको छैन ।

भारतले ओलीलाई यसपटक नयाँदिल्ली नभई बोधगया बोलाउँदै छ । जहाँ असोज १ गते दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुनेछ । तर नेपाल–भारतबीचको पछिल्लो सीमा विवादका कारण तोकिएको मितिमा भ्रमण नहुने सम्भावना पनि बढेको छ ।

लिपुलेकको विषयमा उत्पन्न पछिल्लो मतभेदका कारण प्रधानमन्त्रीको भारत भ्रमण पछि धकेलिने सम्भावना छ । तर मन्त्रालयका अधिकारीहरू यस विषय केही बताउन चाहेका छैनन् ।

भारत र चीनले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा हालै गरेको सहमतिप्रति नेपालले आपत्ति जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो । चीन भ्रमणको क्रममा पनि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भेटवार्तामा पनि उक्त सहमतिप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

ओलीले चीनसँगको भेटमा यस विषयमा आपत्ति जनाएपछि भारत असन्तुष्ट बनेको छ ।

मोदी नजाने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी नहुने भएका छन् । तर प्रधानमन्त्री मोदी सहभागी हुने–नहुने बारे अझै अन्योल छ ।

भारतको परराष्ट्र मन्त्रालयले यसपटक भारतीय प्रतिनिधिमण्डलको नेतृत्व कसले गर्ने भन्ने पुष्टि गरेको छैन । टाइम्स अफ इन्डियाका अनुसार महासभामा सहभागी हुने प्रधानमन्त्री मोदीको सम्भावना कम छ । यदि प्रधानमन्त्री नगए विदेशमन्त्री एस जयशंकरले महासभामा भारतको प्रतिनिधित्व गर्नेछन् ।

अहिलेको प्रधानमन्त्रीको यात्रा तालिकामा न्यूयोर्क समावेश छैन । अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत टयारिफ विवादका कारण अहिले दुई देशबीच असमझदारी बढेको छ । हालै भारतीय प्रधानमन्त्रीको रुस र चीनका राष्ट्रपतिसँग चीनमा भएको भेटबाट अमेरिका झस्किएको छ ।

यदि मोदी न्यूयोर्क गए भने राष्ट्रपति ट्रम्पसँग द्विपक्षीय भेट गर्नुपर्ने या नपर्ने विषयमा पनि भारतको परराष्ट्र मन्त्रालय विभाजित छ ।